कोटेश्वर–कलंकी सडकको बाहिरी लेन बन्दै



काठमाडौं : चिनियाँ सरकारको सहयोगमा बनिरहेको कोटेश्वर–कलंकी सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्रयाक’ को निर्माण आधा सकिएको छ ।

चिनियाँ सरकारको जिम्मामा रहेको आठ लेनको निर्माण कार्य गत मंसिरमै सकिसकेको थियो भने नेपाल सरकारको जिम्मामा रहेको दुई लेनको सर्भिस ट्रयाक निर्माण काम अहिले जारी छ ।

अहिलेसम्म झन्डै ५ किलोमिटर काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । बाँकीको ५ किलोमिटर सडकको काम अर्को वर्ष गरिने छ ।

बाहिरी लेनको चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुबैतर्फको काम भइरहेको छ । यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन रहनेछन् । मुख्य र सहायक लेन चार–चार र ‘सर्भिस ट्रयाक’ दुवैतर्फ एक–एक गरेर जम्मा दुई लेनको रहेको छ ।

८ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । 

सर्भिस ट्रयाकबाटै चक्रपथमा गाडी प्रवेश गर्ने र निश्चित चोकमा पुगेपछि मात्र सहायक र मुख्य लेनमा छिर्न पाउने हिसाबले सडक बनाइएको योजनाले जनाएको छ ।

सर्भिस ट्रयाकको दुई लेन गरी जम्मा १० लेनको सडक हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्