उस्मान आँधीले फिलिपिन्समा एक सय २६ को मृत्यु



मनिला : क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछिको वर्षा अनि पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहो संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । 

फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सयजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयको शब्दमा ‘उस्मान’ भनिने यो आँधी निकै खराव खालको भएको बताइएको छ । 

घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी छ । उद्धार तथा खोजीका लागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको समाचार एजेन्सीले जनाएका छन् । 

आँधी र पहिरोका कारण झण्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको छ । घटनामा परी अहिले सम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्