अल्पमतमा मुख्यमन्त्री राउत



जनकपुरधाम : आज (बिहीबार) बस्ने भनिएको प्रदेश २ सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । बदलिएको राजनीतिक परिवेशसँगै सत्तारुढ दल र प्रतिपक्षी दलबीच आवश्यक समन्वय नभएपछि आज अपराह्न १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा र विपक्षी दल कांग्रेसका प्रदेश सभा सदस्यहरुले प्रदेश सभा अवरुद्ध गर्दै आएपछि भएको सर्वदलिय बैठकले निकास दिन नसकेपछि आजको बैठक स्थगित भएको हो ।

सांसदहरुको संसदीय विकास कोष कार्यविधि, जनता आवास कार्यक्रम, सशक्त अनुदान र उपभोक्ता समितिमार्फत गरिएका कामका भुक्तानीका विषयमा व्यापक अनियमियतता भएको भन्दै सांसदहरुले मुख्यमन्त्री लालबाबु राउतले नै सभामा आएर जवाफ दिनुपर्ने माग उठाउँदै आएका छन् । समाजवादी पार्टीका नेता समेत रहेका मुख्यमन्त्री राउतले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नमानेपछि सहमतिका लागि भन्दै बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

काठमाडौंमा संघीय सत्तारुढ दल नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको सहमतिले दुई नम्बर प्रदेशमा तरंग ल्याइरहँदा प्रदेश सभा बैठक स्थगित हुनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । पछिल्लो समयमा प्रदेश नम्बर २ को प्रदेश सरकार परिवतनको चर्चा चलेपछि तनावमा रहेका मुख्यमन्त्री राउतलाई सत्तारुढ दल राजपाका मन्त्रीहरुले समेत साथ नदिने संकेत देखेपछि मुख्यमन्त्री राउत तनावमा परेका हुन् ।

राजपाको समर्थनमा मुख्यमन्त्री बनेका राउत पछिल्लो समयमा अल्पमतमा परेको देखिन्छ । नेकपा र राजपाबीच बढ्दो सामिप्यताले गर्दा झस्किन पुगेका राउत अहिले उप्ठेरोमा परेका छन् । प्रदेश नम्बर २ मा नेपाली कांग्रेसको समर्थन पाएपनि समाजवादी पार्टी अल्पमतमा देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा र राजपाबीच सम्बन्ध नजिकिदै गर्दा अब राजपाको मुख्यमन्त्री हुने चर्चा प्रदेश नम्बर २ मा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्