कपडा तस्करीदेखि लागूऔषधसम्मको मिनायात्रा 



विराटनगर : मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीया मिना राम पहिले भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने नामुद तस्करका रूपमा चिनिन्थिन् । 

उनले भन्सार छली गर्दै भारतबाट ल्याएको अवैध कपडा प्रहरीले धेरैपटक बरामद पनि ग¥यो । नेपाल–भारत सीमाक्षेत्रमा उनलाई सबैले कपडा तस्करका रूपमा चिन्थे । कपडा तस्कर भनेर परिचय बनाएकी उनै मिना अहिले नेपालमा प्रतिबन्धित लागूऔषध ओसारपसार र कारोबारमा संलग्न रहेको खुलेको छ । 

भारतको जोगबनीबाट लागूऔषध नेपाल भित्र्याएर विभिन्न ठाउँमा आपूर्ति गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले जोगबनीबाट ल्याएको लागूऔषध इटहरी, धरान, इनरुवा, धनकुटा, काठमाडौं, चितवन, पोखरालगायत सहरमा पठाउने गरेको प्रहरीले पत्ता लगाएको छ । 

छोटु नामले परिचित जोगबनीका नामुद लागूऔषध कारोबारीसँग उनको सम्पर्क रहेको प्रहरीले जनाएको छ । छोटुले सञ्चालन गरेको डिलरबाट मिना नेपालमा लागूऔषध भित्र्याउने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । छोटुले उनलाई विराटनगरस्थित सम्पर्क व्यक्तिका रूपमा राखेर नेपालमा लागूऔषध भित्र्याउने गरेको खुलेको छ ।

उनले लागूऔषधको कारोबार गर्नकै लागि पति राजा रामसँग तीन वर्षअघि सम्बन्धविच्छेदसमेत गरेको खुलेको छ ।

‘कपडा तस्करी गरिरहेकी उनी पतिसँग सम्बन्धविच्छेद गरेर लागूऔषधको धन्दामा लागेको पाइयो,’ एक प्रहरी अधिकारीले भने, ‘उनले विराटनगरमा डेरा नै खोजेर स्टोर गर्दै जोगबनीबाट ल्याएको लागूऔषध नेपालका विभिन्न ठाउँमा पुर्‍याउने गरेको पत्ता लाग्यो ।’ 

उनले मासिक दुई हजार रुपैयाँ भाडा तिरेर विराटनगर–९ मा डेरा नै लिएर बसेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मिनालाई गत शुक्रबार साँझ उनकै डेराबाट पक्राउ गरेर कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ ।

मिनाको कोठाबाट प्रहरीले एक सय ५० एम्पुल टिडिजेसिक र २५ बोतल डाइलेक्स डिसी बरामद गरेको छ । डाइलेक्स डिसी नामक तरल लागूऔषध तेल हालिने रातो ग्यालेनभित्र हालेको अवस्थामा बरामद भएको हो । टिडिजेसिक भने कागजमा पोको पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

डिएसपी श्रेष्ठले मिनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मिनाले लागूऔषधकै कारोबार सञ्चालन गर्न पतिसँग सम्बन्धविच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको हो ।

डिएसपी श्रेष्ठका अनुसार मिनाका पति राजा राम चार वर्षदेखि प्यारालाइसिसले थलिएका छन् । प्यारालाइसिसले पति अपांग बनेपछि सम्बन्धविच्छेद गरेर उनी अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

अपांगता भएका पति र १५ वर्षमुनिका चार सन्तानलाई घरमै छाडेर मिना भने तीन वर्षदेखि डेरामा एक्लै बस्दै लागूऔषधको अवैध धन्दामा सक्रिय रहेको खुलेको डिएसपी श्रेष्ठले बताए । मिनामाथि गरिने अनुसन्धान र प्राप्त सूचनाका आधारमा लागूऔषध कारोबारी सञ्जाल भत्काउन प्रहरी लागिपरेको श्रेष्ठको भनाइ छ । 

डेरा बस्ने नाममा डेराबाट लागूऔषध अन्यत्र ‘सप्लाई’ गर्ने धन्दामा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने प्रहरी आशंका छ । 

‘घर हुँदाहुँदै परिवारका सदस्य समेतलाई छाडेर मिनाले लागूऔषधको ‘सप्लाई’ गर्न थालेको खुल्यो,’ डिएसपी श्रेष्ठले भने, ‘यसका अन्य भित्री पाटाका रूपमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ विशेष सूचनाका आधारमा उनको कोठामा छापा हान्न पुगेको प्रहरीले त्यहाँबाट लागूऔषध बरामद गरेको छ ।

भारतीय बजारमा १५ हजारभन्दा कम मूल्यमा पाइने उक्त लागूऔषध उनले भारतीय डिलर सञ्चालकसँगको समन्वयमा ४० हजार रुपैयाँमा बिक्री गर्न खोजेको जानकारी प्रहरीले दिएको छ ।

कपडाको तस्करी चलाउँदै गर्दा जोगबनीस्थित लागूऔषधको डिलर सञ्चालन गरेर बसेकासँग सम्पर्कमा पुगेपछि मिनाले लागूऔषध नेपालमा भित्र्याउने धन्दा सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतमा लागूऔषधका डिलर चलाएर बसेका छोटुको पूरै नाम र ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जोगबनीको छोटुले विराटनगरमा सम्पर्क गर्ने व्यक्तिलाई दिनु भनेपछि उसले थमाएको वस्तु आफूले लिएर आएको तर आफूलाई त्यो वस्तु लागूऔषध हो भन्ने कुरा थाहा नभएको मिनाले बताएकी छिन् । 

डिएसपी श्रेष्ठले डेराबाटै लागूऔषधको ‘सप्लाई’ हुने गरेको नयाँ घटना सार्वजनिक भएपछि विराटनगरमा डेरा गरेर बस्नेमाथि प्रहरीले निगरानी बढाउन थालेको बताए । कसैलाई डेरा दिनेबारेमा घरधनी पनि सजग हुनुपर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्