नेपाललाई जेरुसेलमको पक्षमा ल्याउन इजरायलको लविङ



काठमाडौं : इजरायलले आफ्नो राजधानी जेरुसेलमलाई स्वीकार गर्न नेपालसँग कूटनीतिक लविङ गरिरहेको छ। तेलअभिवस्थित नेपाली दूतावास जेरुसेलम लैजानका लागि इजरायलले यो स्तरको ‘लविङ’ गरेको हो । इजरायलले पछिल्लो समय नेपालसँग उक्त विषयमा खुला छलफल नगरे पनि कूटनीतिक पहलकदमी निरन्तरता दिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष र इजरायललाई यो क्षेत्रबाट सबैभन्दा पहिले मान्यता दिएको मुलुकको नाता जोड्दै इजरायलले नेपालसँग सकारात्मक आशा राखेको परराष्ट्र अधिकारीले बताए ।

इजरायलको पक्षमा नेपाल सकारात्मक हुने वित्तिकै खाडी मुलुकमा रहेका नेपाली कामदारको विषयदेखि अन्य समस्याहरू देखापर्ने स्पष्ट छ । विपक्षमा रहँदा शक्ति मुलुकको तारोमा नेपाल पर्दै गएको छ। यतिबेला नेपालको कूटनीति समस्यामा परेको विश्लेषण परराष्ट्र अधिकारीको छ ।

अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषद्को ‘रिजोलुसन’ लाई समेत वेवास्ता गर्दै तेलअभिव स्थित आफ्नो दूतावास जेरुसेलम सारिसकेको छ । अमेरिकालाई ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालाले साथ दिएको छ । त्यस्तै पछिल्लो समय ब्राजिलले आफ्नो दूतावास जेरुसेलम लैजाने विषय निर्णय गरिसकेको छ ।

 राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन् । ‘यो ब्राजिलको आफ्नै देशको मामिला भएकाले इरान वा अन्य अरबी मुलुकसँग जोडिएको विषय होइन’, राष्ट्रपतिले ब्राजिलको एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भने, ‘दूतावास सार्ने विषयमा निर्णय भइसकेको छ । अब कार्यान्वयनको चरणमा हामी छौं ।’

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केही दिनमा यस्तो निर्णय बाहिर आएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्