भर्जिनिया विश्वविद्यालयको टोली तनहुँमा



दमौली : अमेरिकाको भर्जिनिया विश्वविद्यालयको टोलीले आइतबार तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको भ्रमण गर्दै शैक्षिक गतिविधिबारे अध्ययन गरेको छ ।

 

क्याम्पसको निमन्त्रणामा विश्वविद्यालय ‘स्कूल अफ ल का प्रा. क्यामिलो साञ्चेजको नेतृत्वमा आएको प्राध्यापक तथा विद्यार्थीको १८ सदस्यीय टोलीले क्याम्पसको अवलोकन गर्दै शैक्षिक गतिविधिबारे जानकारी लिएको हो ।

 

विश्वविद्यालयको टोलीलाई क्याम्पसमा स्वागत गर्दै संविधानसभाका सदस्य एवं क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले दुई संस्थाबीच सम्बन्ध कायम गर्न र दुई देशबीचको सम्बन्ध विस्तारका लागि भ्रमणले सहयोग पुर्याउने बताए । 

 

विश्वविद्यालयका प्रा.क्यामिलो साञ्चेजले दुई संस्थाबीचको शैक्षिक गतिविधि सम्बन्धमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आदिकविको भ्रमण गरिएको बताउँदै दुई संस्थाकाबीच संस्थागतरुपमा विद्यार्थी आदानप्रदान कार्यक्रम अगाडि बढाउन पहलसमेत गरिने जनाए । 

 

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समग्र क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराएको कार्यक्रममा व्यवस्थापन सङ्कायमा कानुन विषयको अध्ययन अध्यापन पद्धति र महत्वका बारेमा सहायक प्राध्यापक विमल गिरीले जानकारी गराएका थिए ।

 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले भ्रमणले दुई संस्थामा भइरहेको शिक्षण विधि र अनुभव आदानप्रदान गर्न सहयोग पुगेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्