अपराध नियन्त्रणमा प्रविधि प्रयाेग: सीसीक्यामेरा जडानपछि घटे अपराध



कालीकोट : खाडाचक्र नगरपालिकाको सहकार्यमा प्रहरीले सदरमुकाम मान्म बजारमा सीसीक्यामेरा जडान गरेपछि दिनहुँजसो हुने झैझगडा, चोरी/डकैतीलगायत घटनामा कमी आएको छ । मदिरा सेवन गरेर होहल्ला गर्ने पनि बजारमा भेटिन छाडेका छन् ।

 

कालीकोटलाई अपराधमुक्त बनाउन जिल्ला प्रहरीले सीसीक्यामेरा जडान गरेपछि अपराधका घटनामा कमी आएको प्रहरी निरीक्षक देवेन्द्र मल्लले बताए । ‘पहिले दिनहुँजसो चोरी, झैझगडा, कुटपिटका केस प्रहरीमा आउँथे,’ उनले भने, ‘अचेल त्यस्ता घटनामा कमी आएको छ ।’ उनका अनुसार सीसीक्यामेरा जडान हुनअघि दैनिकजसो झैझगडा, चोरी, गाली/बेइज्जतीका उजुरी प्रहरीमा आउने गरे पनि अचेल छिटफुट रूपमा सातामा एक/दुई वटामात्र आउने गरेका छन् ।

सीसीक्यामेरा जडान भएपछि चोरी/डकैती, झैझगडामा कमी हुनुका साथै नागरिक पनि अनुशासित बनेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । उनले प्रहरीले सीसीक्यामेराबाट निगरानी गर्न थालेपछि अपराधीको मनोबल गिरेको सुनाए ।

तीन महिनाअघि मान्म बजारको मुख्य चोक तथा महत्त्वपूर्ण ठाउँमा ११ वटा सीसीक्यामेरा जडान गरिएको थियो । प्रहरीका अनुसार जिरो प्वाइन्ट, जिल्ला प्रशासन, प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, प्रतिमा चोकस्थित नरहरिनाथ चोकलगायत ठाउँमा सीसीक्यामेरा जडान गरिएको छ ।

सीसीक्यामेरा जडान भएपछि मान्म बजारकी व्यापारी रीता शाहीको नगदसहितको झोला चोरी भएको एक घण्टामै फुटेजका आधारमा फेला परेको थियो । सीसीक्यामेरा फुटेजका आधारमा गाडीमा सुर्खेत जान लागेका तीन जना चोरको समूह पक्राउ परेको थियो ।

मान्म बजारमा सीसीक्यामेरा जडानका लागि जिल्ला प्रहरीको पहलमा तीन चरणको बैठक बसेर स्रोत जुटाइएको डीएसपी विनोद शर्माले बताए । कालीकोटमा हुने अपराध न्यूनीकरणका लागि सीसीक्यामेरा अत्यन्तै प्रभावकारी भएको डीएसपी शर्माको दाबी छ ।

उनले सीसीक्यामेराले अपराधीको मनोबल गिरेको सुनाए । उनका अनुसार मान्म बजारको पश्चिममा पर्ने दरबार एरियामा एक युवतीलाई हातपात गर्ने युवालाई पनि सीसीक्यामेराको फुटेजबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

प्रहरीका अनुसार मान्म बजारमा रहेका अधिकांश घर यहाँका रैथाने बासिन्दाका नभएकाले दसैं मनाउन घर गएका बेला चोरीका घटना हुने गरे पनि यस वर्ष सीसीक्यामेरामार्फत प्रहरीले विशेष निगरानीराखेकाले चोरी हुन पाएन । दुई वर्षअघि दसैंका बेला राष्ट्रिय वाणिज्य बैंकमा समेत चोरी भएको थियो ।

सीसीक्यामेराले मान्म बजारलाई सुरक्षित बनाएकाले नगरपालिकाले केही रकम साझेदारी गरेको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले नगरका मुख्य–मुख्य बजार खाडाचक्र, ताडी मोल्फा, पिली, सेरावाडा, हुल्ममा समेत सीसीक्यामेरा जडान गर्ने नगरपालिकाको योजनामा रहेको जनाए ।

मान्म बजारमा सीसीक्यामेरा जडान गर्न नगरपालिकाले पाँच लाख, जिल्ला प्रहरी कार्यालयले एक लाख, मान्मस्थित विभिन्न बैंकले एक लाख ५० हजार र कालीकोट उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । एउटा सीसीक्यामेरा जडानमा १८ हजारदेखि २८ हजार रुपैयाँसम्म खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्