पाँच शताब्दी पुरानो ‘धरोहर’ पूर्वाधार विकासको पर्खाइमा



                                                        म्याग्दीकाे बेनीस्थित ज्यामरुककाेट ।

म्याग्दी :   बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक तथा पुरातात्विक स्थल ज्यामरुककोट सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारबाट ४ किलोमिटर दूरीमा रहेको ज्यामरुककोटमा पर्यटक आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमशिखर अवलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५औं शताब्दीको विरासतसँग जोडिएको छ । १५औं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुक कोटमा रहेको (खड्गभवानी कोट) का दुर्लभ हातहतियार र अभिलेखहरुले यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् । सो कोटमा ५ सय ७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख छन् ।

ज्यामरुककोटमा वि.सं. १२४६ देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५ को भदौमा थापाहरुको पुख्र्यौली थलो मानिएको ताकमलाई डिम्ब मल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहु र राखुका थापा राजाहरुले राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना बनेपछि थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख रहेको बेनी नगरपालिका २ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

उनले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय स्थलहरुको विकास गर्नुरहेको बताए । ‘खबराको लम्बी हिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘त्योसँगै खड्गभवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउन पहल हुनेछ ।’ 

करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुका ताम्रपत्रमा अंकित इतिहास, तोप, खुँडा, तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा छन् । संरक्षणको अभावमा हातहतियारमा खिया लागेको छ । 

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्युटावर निर्माण गरेर प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्