अवैध उत्खनन्को विरोध अभियानमा लागेका युवाको यसरी भयो विभत्स हत्या



धनुषा : धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको ट्रिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोलाई ट्रिपर चालकले जानीजानी किचेर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

आज बिहान करिव ५ बजे आफ्नो साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले ठक्कर दिँदा महतोको मृत्यु भएको हो ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुनसक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । दीलिपले अवैध उत्खनन्को पहिलादेखि नै विरोध गर्दै आएका थिए । सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले आरोप लगाएका छन् ।

कुल्चनुअघि दिलीपलाई निर्घात कुटपिट
महतोलाई ट्रिपरले कुल्चनुअघि उनीमाथि कुटपिट भएको रहस्य बाहिरिएको छ । चुरियामाई बालुवा प्रशोधन उद्योगले अवैध उत्खनन् गरिरहेको थाहा पाएर रोक्नकै लागि साथीसँग उत्खननस्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि ट्रिपरले किचेर हत्या गरिएको रहस्य सार्वजनिक भएको हो ।

मिथिला नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादवले शुक्रबार बिहान ४ बजेतिर दिलीपले फोन गरेको बताएका छन् । दिलीपले फोनमा रुदैँ उत्खनन् रोक्न आग्रह गर्दा आफूमाथि कुटपिट भइरहेको बताएका थिए । उनले दिलीपको फोन आउनासाथ आफू दौडेर घटनास्थल पुग्दा त्यहाँ उनको लाश देखेको बताए ।

दुई दिन अगाडी नै दिलीपलाई धम्की
अवैध उत्खनन्विरुद्धको अभियानका नेतृत्वकर्ता दिलीपलाई चुप लागेर बस्न पटक–पटक धम्की आइरहेको थियो । उनलाई औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपीनकुमार महतोले दुई दिन पहिले नै धम्की दिएका थिए । उनकी दिदी लक्ष्मी कुमारी महतोले बताईन ।

उनका अनुसार बुधबार दिलीपका बुबा रामजीवन महतोलाई एकजना ठेकेदार विपीनकुमार महतोले धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु । नत्र कुनै दिन उसको शरीरमा ट्रिपर चढाइदिन्छु ।’ करिव डेढवर्ष अगाडि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको संलग्नतामा बसही खोलामा भएको अवैध उत्खनन् र खोला अतिक्रमणको विरोधमा दिलीपकै नेतृत्वमा अभियान समेत सञ्चालन भएको थियो ।

हत्यामा प्रहरीको समेत संलग्नता रहेको आरोप
मृत्यु भइसकेको अवस्थामा प्रहरीले हतार–हतार गम्भीर घाइते भन्दै घटनास्थलबाट मुचुल्का समेत नगरी दिलीपको शव उठाएर लगेपछि स्थानीय र आफन्तले हत्यामा प्रहरीको समेत संलग्नता रहेको आरोप लगाएका छन् । मृतक दिलीपका भाई रजनीश कुमार महतोले प्रहरीकै संलग्नतामा दाईको हत्या भएको आरोप लगाएका छन् । उनको हत्या गरेर टाउकोमा टिपर चढाइएको उनको आरोप छ ।

दाईको उनले भने,‘प्रहरीले शव उठाएर लगे । मुचुल्का पनि उठाएनन् । यो सबै प्रहरीकै सेटिंगमा भएको हो ।’ यता गाउँलेहरुले समेत ईलाका प्रहरीलाई पटक–पटक गुहार गर्दा पनि वेवास्ता गर्दै आएको र क्रसर तथा ट्रिपर मालिकहरुसँग प्रहरीले कमिशन खाएर उनीहरुलाई सहयोग गर्दै आएको आरोप लगाउँछन् ।

परिवारमा रोदनको माहोल
दिलीप कुमार महतोको घर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुर पुग्दा रोदनको माहौल थियो । कोही कसैसंग बोल्न सक्ने स्थितिमा समेत थिएनन् । दिलीपका बुवा ४८ वर्षिय रामजीवन महतो र आमा चन्द्रकला देवी महतो आलाप विलापमा थिइन् ।

दिलीपकी फुपु कुसुम कुमार महतोले दिलीप क्रसर उद्योगहरुले गर्ने गरेको अवैध उत्खनन बिरुद्ध आवाज उठाउँदै आएकाले नियोजित पूर्वक हत्या गरिएको दावी गरिन् । उनले भनिन,‘यो घटनालाई प्रहरी प्रशासनले समेत गम्भिरतापूर्वक लिएको छैन् बरु ढाकछोप गर्ने प्रयासमा लागेका छन् ।’

ट्रिपर चालक पक्राउ
प्रहरीले महतोलाई किचेर मार्ने ट्रिपरका चालकलाई पक्राउ गरेको छ । दिलीपलाई किचेर मारे लगत्तै फरार भएका ना ७ ख ६४१३ नम्बरको ट्रिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनलाई ढल्केबर नजिकबाट पक्राउ गरिएको र घटनाको सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

सिंगो गाउँका लागि प्रिय पात्र दिलीप
१० सदस्यीय परिवारका लागि मात्रै नभई पूरै गाउँका लागि प्रिय पात्र थिए दिलीप । उनको हत्यापछि पुरै गाउँ शोकमा छन् ।

भारतको भोपालस्थित म्याकेनिकल इन्जिनियरिंग अध्ययनरत दिलीप फाइनल इयरमा अध्ययनरत थिए । उनी फस्ट जनवरीमा विदामा मात्रै घर आएका थिए । पछिल्लो ५ वर्षदेखि दिलीप समाजमा रहेका बेथितिबिरुद्ध आवाज उठाउँदै आईरहेका थिए । मृतक दिलीपकी बहिनी लक्ष्मी महतोले भनिन्‘ क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि र नगर प्रमुखको मिलिभगतमा मेरो दाईको हत्या गरिएको हो ।

मुचुल्काबिना नै उठाइयो शव
साथी रोशन यादवले अवैध उत्खनन गरिरहेको खबर गरेपछि दिलीप उनीसंगै उत्खनन भईरहेको स्थल पुगे । दिलीप घरबाट निस्किएको केही बेर नबित्दै गाउँभरी नै उनको हत्या भएको खबर फैलियो । त्यहाँ बहिनी लक्ष्मी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादव लगायत केही स्थानीयवासीहरु घटना स्थलमा पुगेका थिए । केही बेर नबित्दै प्रहरी प्रशासन शव उठाउनका लागि पुगेका थिए ।

वडाध्यक्ष श्यामबावु महतोको सहमति पश्चात दिलीपको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थि प्रादेशिक अस्पतालमा पुर्याइयो । दिलीपको शव उठाइएपनि परिवारका सदस्यहरुले आफूहरुको सहमति तथा मुचुल्का बिना नै शव घटनास्थलबाट लगिएको आरोप लगाएका छन् ।

मेयर प्रतिक्रिया दिनबाट पन्छिदै
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो यस विषयमा प्रतिक्रिया दिनबाट पन्छिरहेका छन् । नगरप्रमुख महतोले गैरजिम्मेवारपूर्ण शैलिमा भने,‘घरको भान्सामा के खाना पाकिरहेको छ भन्ने कुरो घरका सदस्यलाई थाहा हुँदैन भन्ने नगरमा के भईरहेको छ भन्ने कुरो मलाई कसरी थाहा हुन्छ ।’उनको आफ्नै छोराले समेत अवैध क्रसर उद्योग सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्