दीपिकाद्वारा अभिनित चलचित्र ‘छपाक’बाट उत्तराखण्ड सरकार प्रभावित



एजेन्सी : बलिउड स्टार दीपिका पादुकोणको फिल्म ‘छपाक’बाट उत्तराखण्ड सरकार निकै प्रभावित भएको छ ।

उत्तराखण्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा गरेको त्यहाँका महिला एवम् बाल विकासमन्त्री रेखा आर्यले बताएकी छन् ।

भारतिय सञ्चारमाध्यमहरूले जनाए अनुसार उनले तेजाब पीडितहरू सम्मानका साथ बाँच्न सकून् भनेर सहयोग गर्न चाहेको बताएकी छन् ।

रेखा आर्यले संसदमा यो प्रस्ताव पास गराउने र लागू भएपछि पीडितहरूलाई प्रतिमहिना ५–६ हजार भारू दिइने पनि जानकारी दिएकी छन् । तथ्यांक अनुसार उत्तराखण्डमा करिब ११ जना तेजाब आक्रमणका पीडित छन् ।

त्यस्तै पन्जाब सरकारले तेजाब आक्रमण पीडितलाई बोलाएरै फिल्म प्रदर्शन गरेको छ । अन्य केही राज्यमा छपाकका टिकट निःशुल्क बाँडिएको छ भने केहीमा करमुक्त गरिएको छ ।

तर, दिल्लीमा ‘छपाक’ प्रदर्शन गर्न रोक लगाइएको छ । अधिवक्ता अपर्णा भट्टलाई फिल्ममा ’क्रेडिट’ नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो ।

छपाकले प्रदर्शनको दिन ५ करोडको व्यपार गरेको थियो । त्यस्तै प्रदर्शको दोस्रो दिन ७ करोड कमाएको थियो भने छपाकको २ दिनको व्यपार १२ कारोड कमाएको छ । नायक अजय देवगणको ऐतिहासिक कथामा बनेको चलचित्र ‘तान्हाजी’ले राम्रो व्यापार गरेपनि छपाकको नीतिगत रुपमा नै प्रशंसा भइरहेको छ । तान्हाजीको तीन दिनको व्यापार ६१.९७ करोड रहेको छ ।

मेघना गुल्जारले निर्देशन गरेको सो चलचित्र गत शुक्रबारबाट प्रदर्शनमा आएको हो ।

यो चलचित्र वास्तविक जीवनमा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको संघर्षको कथामा आधारित छ । कसरी एसिडले एउटा चन्द्रमा जस्तो अनुहार र त्यसको पहिचान नै परिवर्तन गरिदिन्छ भन्ने कुरालाई पर्दामा उतारिएको छ । र, कसरी एउटा जीवन परिवर्तन गरिदिन्छ भन्ने कुरा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्