मेस्सीसँग नेतृत्वदायी क्षमता छैन : म्याराडोना



एजेन्सी : अर्जेन्टिनालाई विश्वकप जिताउने फूटबल स्टार म्याराडोनाले लियोनल मेस्सीसँग नेतृत्व क्षमता नरहेको बताएका छन् ।

पेटमा देखा परेको समस्याका कारण अस्पताल भर्ना भएका म्याराडोना अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै मेस्सीको आलोचनामा उत्रिएका हुन् ।

गत वर्षको अक्टोबरमा समेत म्याराडोनाले मेस्सीको नेतृत्व क्षमतामाथि प्रश्न गरेका थिए । मेस्सीको आलोचना गर्दै उनले मेस्सी खेलपूर्व २० पटक ट्वाइलेट जाने खेलाडी भएको बताएका थिए ।

एक अर्जेन्टिनी पत्रिकासँग कुरा गर्दै उनले भनेका छन्, ‘म मेस्सीलाई सम्मान गर्दछु । उनी उत्कृष्ट खेलाडी हुन् । तर उनीसँग नेतृत्वदायी क्षमता छैन ।’ आफू राष्ट्रिय प्रशिक्षक भएको भए मेस्सीलाई अन्तर्राष्ट्रिय दायित्वमा फेरि पनि फर्काउने थिइन भन्ने उनको भनाइ छ । उनले अर्जेन्टिनीले मेस्सीसँग ठूलो अपेक्षा गर्न नहुने समेत बताएका छन् ।

कुनै समय मेस्सीलाई विश्वकै उत्कृष्ट फुटबलर मान्ने म्याराडोना अहिले मेस्सी अर्जेन्टिनाको कप्तानको भूमिका सम्हाल्न नसक्ने खेलाडी भएको बताउँदै आएका छन् ।

मेस्सीलाई पहिलोपटक २०१० को विश्वकप फुटबलमा अर्जेन्टिनाको कप्तानी दिने म्याराडोना नै थिए ।

 

प्रतिक्रिया दिनुहोस्