प्रचण्डले ‘यु टर्न’ गर्दा सुवासलाई ‘टेन्सन’



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले सभामुख चयनको विषयले राजनीतिक अवस्थामै जटिल हुँदै गएको बताएका छन् । आज चितवनमा आयोजित खिचरा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताए पनि कस्तो खालको जटिलता हो भन्ने कुरा चाही खुलाएनन् ।

यस्तो राजनीतिक परिस्थतिका बीच बैठक गरेर आवश्यक निर्णय गर्नुपर्ने बेलामा राजधानी बाहिर गएको भन्दै आलोचना भईरहेको सन्दर्भलाई लक्षित गर्दै प्रचण्डले राजनीतिमा यस्तो अवस्था आईरहने बताए । यस्तै उनले भने– यस्तो जटिल समस्यामा राजधानी छोडेर नजानु भन्ने थियो तर म तीन घण्टा भएपनि माडी पुगेर आउछृु भने र आएको हुँ ।


चितवनको माडी पुगेपछि आफूलाई निकै उर्जा थपिने बताउँदै प्रचण्डले काठमाडौ फर्केपछि खिचरा महोत्सवको बारेमा अन्य नेताहरुलाई पनि जानकारी गराउने बताए ।


नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनकै विषयलाई लिएर केही दिन अघि प्रचण्डलाई बाहिर बाहिर बैठक गर्दै हिडेकोले सभामुख चयन गर्नु भन्ने ब्यांग्य गरेका थिए । ओलीको कुराले रातोपिरो भएका प्रचण्डले आफूलाई सम्हाल्दै सभामुख चयनको विषयमा भने त्यहाँ मुख खोलेनन् ।

अहिले सभामुखका लागि नेकपाभित्र सुवास नेम्बाङ, अग्नि सापकोटा, पम्फा भुषाल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको नाम चर्चामा रहेको छ । नेम्वाङलाई प्रधानमन्त्री ओलीको साथ रहेको छ भने सापकोटालाई अध्यक्ष प्रचण्ड र भुषाललाई सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको समर्थन रहेको चर्चा व्यापक बनेको छ । त्यस्तै तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको खबर सार्वजनिक भईरहेका छन् ।

यता यौनर्दुव्यवहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिनासाथ अध्यक्ष प्रचण्डले अबको सभामुख तपाई नै हो भन्दै चर्चामा ल्याएपनि अहिले आफूलाई धोका दिएको गुनासो नेम्वाङले गरेका छन् । ‘पहिले आफूले नसोचेको बेलामा सभामुख बन्नुपर्छ भनेर भन्ने अहिले आएर प्रचण्डले बोली फेर्दै युटर्न भएका छन् ।’ – नेम्बाङको भनाई उदृत गर्दैै श्रोतले भन्यो । प्रचण्डले सभामुख तपाई नै हुने हो अहिले बाहिर धेरै नबोल्नुस भनेर सुझएको प्रसंग सुनाउँदै आफू प्रचण्डको विश्वासमा परी ढुक्क भएर बसेकोमा अहिले यो अवस्था आएको कुरा नेम्वाङले आफू निकटहरुसँग गर्दै आएका छन् ।

पछिल्लो समयमा प्रचण्डले पूर्व माओवादीको भागमा परेको सभामुख चाहिन्छ भनेर त्यही अडानमा बस्दा नेकपा अनिर्णयको बन्दी बन्न पुगेको छ । पाटी संचालनको कार्यकारी अधिकार प्राप्त गरेपछि पनि सभामुख चयनको मामिलामा भने अध्यक्ष प्रचण्ड समग्र पार्टीको भन्दा पूर्व माओवादी पक्षको मात्र अध्यक्षको भूमिकामा देखिएपछि कार्यकर्ताहरुबीच टिप्पणी शुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको २० महिना बितिसकेर पार्टीको समायोजनको कामसमेत लगभग समाप्त भइसकेको अवस्थामा अध्यक्ष प्रचण्डको पछिल्ला गसितविधिले भने अहिले पनि सभामुख पदका सम्बन्धमा साविक माओवादीको दावी प्रस्तुत गरेर दुई पार्टीको दुई पक्ष पूर्व एमाले र माओवादी केन्द्र जीवन्त रहेको सन्देश गईरहेकोमा नेताहरु समेत चिन्तित देखिन्छन् ।

जबकि २०७६ मंसिर २९ गतेकोे नेकपा स्थायी समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले पार्टी्भित्र मौलाएको गुटबन्दीको आलोचना गर्दै गुटबन्दी समाप्त पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो प्रतिबद्धताको मसी पनि सुक्न नपाउँदै अध्यक्ष दाहालले २०७६ पुस २४ गते नेकपा नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा सभामुख चयनका सम्बन्धमा गुटगत भेलामा सहभागी भएर प्रधानमन्त्री ओलीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कसरत गरेका थिए । तर भैसीपाटी भेला प्रचण्डका लागि प्रत्युत्पादक बन्न पुगेको छ ।

सभामुख चयनको मामिलामा सहमति कायम होस् भनेर २०७६ पुस १६ गते बस्न नसकेको संसदको बैठकलाई २०७६ पुस २७ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको थियो । तर, पुस २७ गते पनि सभामुखका सम्बन्धमा नेकपामा सहमति बन्न नसक्दा सूचना टाँस गरेर आगामी माघ ६ गतेको लागि तोकिएको छ । समय घर्किदै जाँदा अहिलेसम्म नेकपाले निर्णयक ढंगले छलफल अगाडी बढाएको छैन ।

नेकपाको यो गतिविधले संसद बैठक अवरुद्ध हुँदा आलोचना भईरहेको छ । यसले पार्टीलाई पनि क्षति पुगेको कतिपय नेताहरुको भनाई छ । संसदको हिउँदे अधिवेशनको बैठक सभामुख चयन प्रक्रियाबाट अगाडि बढाउने समयतालिका संसदले निर्धारण गरिसकेको छ । त्यस्तै विधेयक अधिवेशनको रुपमा लिईने यो अधिवेशनमा विधेयकहरु अलपत्र अवस्थामा छन् । सग्ै शुरु भएको राष्ट्रियसभा बैठकले आधा दर्जनभन्दा बढी विधेयकहरु पारित गरिसकेको छ भने आधा दर्जन विधेयक उपर छलफल चलिरहेको छ ।

२०७६ असोज १४ गते कृष्णबहादुर महराले राजीनामा गरेपछि चार महिना बित्न लाग्दा पनि सभामुखको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । यसैगरी सभामुखका सम्बन्धमा नेकपाले निर्णय गर्न नसक्दा लगभग एक महिनादेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशनका बैठकहरू सूचना टाँस गरेर सारिराख्नु पर्ने नियतिबाट गुज्रिराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्