सप्तरीमा ३१ बालिका बलात्कृत



सप्तरी: सप्तरीमा सन् २०१९ को एक वर्षको अवधिमा बालिका बलात्कारको ३१ वटा घटनामा ३१ जना बालिका पीडित भएको उजुरी दर्ता भएको सप्तरी प्रहरीले जनाएको छ ।

गत वर्षको जनवरीदेखि डिसेम्बरको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १४, इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नौं, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनामा चार–चार वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइले जानकारी दिए । एसपी प्रसाइका अनुसार गत वर्ष साढे तीन र पाँच वर्षीयादेखि १४ वर्षीया सुस्त मनस्थितीकी बालिका र १८ वर्षीया दृष्टिविहीन बालिका पीडित भएकी थिइन् ।

इन्सेकका अनुसार १० वर्ष आठ महिनादेखि ४५ वर्ष उमेर समूहका आरोपितहरूको सङ्ख्या भने ५१ रह्यो । जसमध्ये १६ जना आरोपित १८ वर्ष मुनी उमेर समूहका छन् । आरोपितमध्ये १० जना पुर्पक्षका लागि कारागारमा थुनामा र चार जना बालसुधार गृहमा छन् । पाँच जना बालक संरक्षकको जिम्मामा, एक जना धरौटीमा रिहा भएका छन्, १५ जना फरार छन्, १३ जनाविरुद्ध वारेण्ट जारी भएको छ, एक जना जमानतमा र दुई जना वर्षको अन्तिम महिना गिरफ्तार भएका छन् ।

सन् २०१८ को अवधिमा एक बालिकाको बलात्कारपछि हत्या हुनुका साथै अन्य ३६ घटनामा दुई वर्षीया, तीन वर्षीया र सुस्त मनस्थितीकी १५ वर्षीया एक बालिकासमेत गरी ३७ जना पीडित भएको घटना इन्सेकमा अभिलेखित छ । यसैगरी सन् २०१७ को अवधिमा बलात्कार घटनामा आठ र सन् २०१६ को अवधिमा बलात्कार घटनामा १८ बालिका पीडित भएको अभिलेख छ ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा सप्तरीमा बाल यौन दुर्व्यवहारका सात वटा उजुरी दर्ता भएको सप्तरी प्रहरीको तथ्याङ्कले जनाएको छ । पीडित बालिका आठ वर्षसम्मका सात जना रहे भने आरोपितमा १४ वर्षदेखि ५७ वर्ष उमेर समूहका १२ जना रहे ।

आरोपितमध्ये एक जना पुर्पक्षका लागि कारागारमा थुनामा छन्, एक आरोपित फरार छन् भने एक आरोपितविरुद्ध वारेण्ट जारी भएको छ । यस्तै आरोपितमध्ये आठ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने एक जना संरक्षकको जिम्मामा रिहा भए ।

सन् २०१८ मा यौन दुर्व्यवहारबाट १५ बालिका पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । यस्तै सन् २०१७ को अवधिमा आठ जना बालिका र सन् २०१६ को अवधिमा ९ जना बालिका यौन दुर्व्यवहार घटनामा पीडित भएको अभिलेखित छ ।

छिमेकीहरूबाट सुस्त मनस्थिती र दृष्टिविहीनसहित स–साना अबोध बालिका बलात्कृत हुने घटनामा गत वर्ष पनि कमी आएन । प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने भएकाले पीडकहरूले अपाङ्गता भएका र अबोध बालिकाहरूलाई प्रलोभन, डर र त्रासमा पारेर यौन दुर्व्यवहार तथा बलात्कार गर्ने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्