हिमालपारिको आकर्षण : एक वर्षमा ६० हजार पर्यटक



म्याग्दी : प्राकृतिक सौन्दर्य, धार्मिक सहिष्णुता, भौगोलिक विविधता र हिमाली शोभाले युक्त हिमालपारिको जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६० हजार पर्यटकले भ्रमण गरेका छन् ।

सन् २०१८ मा ५९ हजार ८ सय ३८ जना विदेशी पर्यटकले मुस्ताङका विभिन्न क्षेत्र भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । एक्याप जोमसोमका अनुसार सन् २०१७ को तुलनामा २०१८ मा विदेशी पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको छ ।

‘मुस्ताङ आएका पर्यटकमध्ये सबैभन्दा बढी धार्मिक उद्देश्यले आएको देखिन्छ, भारतीय पर्यटकहरु मुस्ताङको अरु ठाउँको भ्रमणभन्दा पनि मुक्तिनाथ दर्शनका लागि आएका हुन्छन्’, एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले भने । मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो ।

दाहालका अनुसार भारतीयपछि मुस्ताङ भ्रमणमा आउनेहरुमा जर्मनी र फ्रान्सका पर्यटक बढी छन् । सन् २०१८ मा ३३ हजार एक सय ५९ जना भारतीय पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् भने  जर्मनीका तीन हजार दुई सय १० र फ्रान्सका तीन हजार ८९ जना रहेका छन् । त्यसपछि अन्य मुलुकमा पर्यटकको संख्या छ ।

सन् २०१७ मा ५२ हजार चार सय ७५ विदेशी मुस्ताङ भ्रमणमा आएकामा २४ हजार आठ सय आठ भारतीय, तीन हजार एक सय २३ फ्रान्सेली र दुई हजार ६ सय ३९ जर्मनीका थिए ।

प्रतिक्रिया दिनुहोस्