पुल माग्दै जारी रिले अनशन नवौं दिनमा



लहान : हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल छिटो निर्माण गर्नुपर्ने मागसहित हुलाकी सडक सङ्घर्ष समितिले सुरु गरेको रिले अनशन बिहीबार नवौं दिनमा पुगेको छ ।

 

सिरहा महावीर चोकमा सुरु रिले अनशनप्रति जनप्रतिनिधिदेखि सर्वसाधारणासम्मले ऐक्यबद्धता जनाएका छन् । कमला र बलान नदीमा गत २०६८ सालमै पुल निर्माणको काम थालिएको हो । तर सात वर्ष बित्दा पनि निर्माण कार्य पूरा नभएकाले सरकारलाई दबाब दिन अनशन सुरु गरिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए ।

 

कमला र बलान नदीमा अलपत्र अवस्थामा छाडिएको पुलको काम छ महिनाभित्र सक्ने प्रतिबद्धता सरकारबाट नआएसम्म अनशनलगायतका सङ्घर्षका कार्यक्रम नरोकिने संयोजक यादवले बताए । 

 

आफूहरुको अनशनप्रति प्रदेश नं. २ का वातावरण राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, मदनसेन श्रीवास्तवलगायतले ऐक्यबद्धता जनाएको यादवले जानकारी दिए । 

 

तराई मधेसको मेरुदण्ड मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न २०६८ साल जेठ ३१ गते शर्मा पप्पु लुम्बिनी जेभीले २८ करोड १५ लाख ९७ हजारमा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन । 

 

त्यस्तै सिरहा र सप्तरीलाई जोड्ने बलान नदीमा पुल बनाउन २०६८ चैत १५ गते २४ करोड १२ लाखमा शर्मा पप्पु जेभीले ठेक्का लिए पनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको छैन । सो पुल निर्माणको लागि हालसम्म १५ करोड ५८ लाख भुक्तानी लिइसके पनि करिब ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयको गुनासो छ ।

 

सङ्घर्ष समितिले गत भदौ ३१ गते प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको अगुवाइमा राजविराजबाट हुलाकी सडकमा पैदलयात्रा आरम्भ गरी असोज ७ मा जनकपुर पुगेर प्रदेश नं. २ को सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्