गुणस्तरीय र अनुसन्धानमूलक शिक्षामा जोड



म्याग्दी : म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिमको उद्घाटन गर्दै उनले गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि अनुसन्धान जरुरी रहेको बताए 

उनले परिवर्तित सन्दर्भमा स्थानीय तहहरूले आफ्नो बजेट विनियोजन र कार्यक्रम सञ्चालन गर्नु पूर्व विकासको आवश्यकताको पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिए । 

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विश्वविद्यालय स्तरमा सञ्चालन हुने तालिम तथा गोष्ठीलाई विद्यार्थीको तहसम्म पुर्‍याउन आवश्यक रहेको बताएका थिए ।

बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराइलीले क्याम्पसको गुणात्मक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै शैक्षिक उन्नयनका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्ला पुँजी निर्माणको चरणमा नभई परिचालनको अवस्थामा रहेकाले अब पुँजीको निर्माणतर्फ ध्यान दिनुपर्ने बताएका थिए । उनले जिल्लाको शैक्षिक अवस्था र विभिन्न समस्याहरूको विषयमा छलफल चलाइएको भन्दै प्राध्यापकहरूको क्षमता अभिवृद्धि र क्याम्पसको विकासका लागि सञ्चालक समिति लागिपरेको बताए । 

कार्यक्रममा तालिमका प्रशिक्षक मनबहादुर खत्री, बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेका थिए भने क्याम्पसको क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । 

क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने अनुसन्धानमूलक तालिममा ३० जनाको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्