चाडपर्वलाई लक्ष्य गरी धनुषामा सुरक्षा व्यवस्था कडा



जनकपुरधाम : दशैँ, तिहार र छठ पर्वमा धनुषामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको रामानन्द चोकमा आयोजना गरेको दशैँ तिहार र छठ पर्वलक्षित सुरक्षा कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चाडपर्वलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा बनाउने बताएका हुन् ।

 

उनले जनतालाई शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा गर्न लागिएको जानकारी गराए । धर्म सांस्कृतिको नाममा विभिन्न संघ संस्था तथा क्लबहरुलाई अबेर रातिसम्म कार्यक्रम नगर्न अग्रहसमेत प्रमुख जिल्ला अधिकारी लामिछानेले गरे ।

 

धनुषा सुरक्षाको हिसाबले जोखिम रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी लामिछानेले कतै कुनै अवाञ्छित वा आपराधिक गतिविधि भइरहेको थाहा पाए नजिकको प्रहरीमा जानकारी गराउनसमेत आग्रह गरे ।

 

सुरक्षाका लागि १ हजार ५५ प्रहरी परिचालन गरिने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रहरीको संयुक्त सहकार्यमा १ हजार ५५ प्रहरी परिचालन उनले बताए ।

 

चाडपर्वलाई लक्ष्य गरी जिल्लामा आपराधिक गतिविधि नहोस् भन्ने उद्देश्यले सुरक्षाका कार्यक्रम गरिएको हो । ठाउँठाउँमा कमान पोस्ट खडा गर्ने, सरप्राइज चेकिङ गर्ने, यात्रु सहयाता कक्ष सञ्चालन गर्ने जस्ता कार्यक्रम गर्ने धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । 

 

उपरीक्षक थपालियाले भने, ‘सामाजिक विकृति अन्त्यका लागि प्रहरी २४ सैं घण्टा तयार छ, यसमा छ सबैको साथ, सहयोगको अपेक्षा गरेको छु ।’

 

थपलियाले आम नागरिकलाई निर्धक्क चाडपर्व मनाउन आग्रह गर्दै जबर्जस्ती चन्दा संकलन गर्ने, लागुऔषध सेवनकर्ता, मदिरा सेवनकर्ता, महिला हिंसा, सवारी दुर्घटना र जुवातास जस्ता विकृति नियन्त्रण गर्न प्रहरी २४ घण्टा लाग्ने बताए ।

कार्यक्रममा नागरिक समाजका अगुवा, सञ्चारकर्मी, सर्वसाधारणलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्