उता विप्लव गर्जिदा यता बादलको गोली हान्ने आदेश



काठमाडौं : कुनैबेला एउटै मोर्चामा रहेका हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सरकारद्वारा प्रतिवन्धित नेकपाका महासचिव नेत्र विक्रमचन्द ‘विप्लव’ अहिले एक अर्काका प्रतिद्वन्दीका रुपमा रहेका छन् । बादलले शान्तिसुरक्षाको जिम्मेवारी लिएर बसिरहेका छन् भने विप्लव विध्वंसात्मक गतिविधिको नेतृत्व गरिरहेका छन् ।

यस्तै अवस्थामा रहिरहेको विप्लव माओवादीले काठमाडौं उपत्यकालाई ‘टार्गेट’ गर्दै हिंसात्मक गतिविधिलाई अग्रता दिइरहेको छ । यो अवस्थालाई रोक्नको लागि गृहमन्त्री बादलले मातहका सुरक्षा संयन्त्रलाई गोली हान्नसम्मको निर्देशन दिएका छन् ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले काठमाडौं केन्द्रीत हिंसात्मक गतिविधिका लागि विषेश योजना बनाएपछि फिल्डमा खटिएका सुरक्षाकर्मीलाई गोली हान्नेसम्मको अधिकार दिएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

विप्लव समूहले ठूलो समूहमा आफ्ना कार्यकर्तालाई सरकारले पक्राउ गर्न थालेपछि संघीय राजधानी काठमाडौंलाई आफ्नो निशाना बनाएको प्रहरीले सूचना पाएको छ । विप्लव माओवादीका कार्यकर्ताहरु ठूलो संख्यामा काठमाडौं भित्रिएको र भित्रिने क्रम जारी रहेको सूचना प्रहरीले पाएको छ ।

जसअनुसार प्रहरीले संवेदनशील क्षेत्र राष्ट्रपति निवास, उपराष्ट्रपति निवास, प्रधानन्यायाधीश, सभामुख तथा उपसभामुख निवास, सिंहदरबार परिसर, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री क्वार्टर पुल्चोकका साथै भीभीआईपी बस्ने क्षेत्र र नेपालस्थित विदेशी नियोगमा कडा सुरक्षा दिन थालेको छ । यस्तै काठमाडौं छिर्ने विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा पार्नुको साथै चेकजाँचलाई कडा बनाईएको प्रहरीले बताएको छ ।

केही समयअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको विप्लव माओवादीका कार्यकर्तालाई हतियारसहित फेला पारे गोली हान्नेसम्मको अधिकार प्रत्योजन गर्दै नेपाल प्रहरीले आफ्नो कार्ययोजनालाई अघि बढाएको हो ।

काठमाडौंलाई टार्गेट गरी विप्लव समूहले गतिविधलाई तीव्रता दिएसँगै अहिले सुरक्षा संवेदनशील क्षेत्रमा २४ सैं घण्टा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सरकारले दमनको नीति लिएको भन्दै विप्लव माओवादीले प्रत्याक्रमणको योजनासहित काठमाडौंलाई निशाना बनाएको नेपाल प्रहरीले विश्लेषण गरेको छ । जसअनुसार सुरक्षा व्यवस्थालाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)उत्तमराज सुवेदीले बताएका छन् ।

नेपाल प्रहरीले २४ सैं घण्टा सुरक्षा चेकजाँचलाई निरन्तरता दिएका छन् । विप्लव माओवालीले आफ्ना लडाकु कार्यकर्तालाई काठमाडौं पठाएको भन्ने खबर आएलगत्तै सुरक्षा व्यवस्था कडा पारिएको एसएसपी सुवेदीले बताए ।

उनका अनुसार सिंहदबार क्षेत्रको सुरक्षाको लागि विभिन्न गण र गुल्मबाट सुरक्षाकर्मी झिकाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसबीचमा प्रहरीले विप्लव माओवादीका कार्यकर्ताहरुलाई विभिन्न ठाउँमा छापा मारी १ सय भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरी अधिकारीका अनुसार विप्लव माओवादीको गतिविधि हुने र शंकास्पद क्षेत्रलाई पहिचान गरी छापा मर्ने कामलाई तीव्रता दिईएको छ ।

अहिले नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र उपत्यकाभर रहेका प्रहरी कार्यालयबीच समन्वय गरेर आशंकित क्षेत्रमा खानतलासी गर्ने, शंकास्पद गतिविधिमा संलग्न रहेकाहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भएको पनि एसएसपी सुवेदीले जानकारी दिएका छन् ।

हातहतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लवका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने सूचना आएपछि अहिले राजधानीका केही ठाउलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा सतर्कता अपनाएको पनि उच्च सुरक्षा अपनाईएको प्रहरी अधिकारी बताउँछन् । उनीहरुले यसका लागि पक्राउ परेका विप्लवका कार्यकर्ताबाट आएका सूचनालाई पनि आधार बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्