किन घटे बेलायत, जर्मनी र फ्रान्सबाट आउने पर्यटक ? यस्तो छ तथ्याङ्क



काठमाडौं : सन् २०१९मा नेपाल आउने पर्यटकहरुमध्ये सबैभन्दा धेरै भारतीय नागरि रहेका छन् भने दोस्रोमा चिनियाँ नागरिक रहेका छन् । त्यस्तै तेस्रोमा अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ ।

नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइरहँदा गत वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो अघिल्लो वर्षभन्दा केबल २ दशमलव ५ प्रतिशतको वृद्धि हो । गत वर्ष कम्तिमा १२ लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा गरिएको थियो । सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विभागका अनुसार गत वर्ष २ लाख ५४ हजार १५० जना भारतीय पर्यटकले नेपाल भ्रमण गरे । यो सन् २०१८ भन्दा ३० प्रतिशतको वृद्धि हो ।

सन् २०१८ मा १ लाख ९४ हजार ३२३ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा हवाई माध्यमबाट मात्र २ लाख ३२ हजार २९७ जना भारतीय पर्यटक आएका छन् । स्थलमार्गबाट ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने भएपनि यसको एकिन तथ्याङ्क रहेको छैन ।

भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटक छन् । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सन् २०१८ भन्दा १० दशमलव ३५ प्रतिशतले बढी हो । उक्त वर्ष १ लाख ५३ हजार १३३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तै, तेस्रो नम्बरमा अमेरिकी पर्यटक छन्, गत वर्ष ९३ हजार २१८ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् भने चौथो नम्बरमा बेलायती पर्यटक छन् ।

गत वर्ष ६१ हजार १४४ जना बेलायती पर्यटकले नेपाल भ्रमण गरे । यो सन् २०१८ भन्दा ३ दशमलव ६५ प्रतिशत कम हो ।

पाँचौ नम्बरमा रहेको श्रीलंका र छैठौं नम्बरमा रहेको थाइल्यान्डका पर्यटकहरू पनि अघिल्लो वर्षभन्दा घटेका छन् । गत वर्ष श्रीलंकाबाट ५५ हजार ८६९ जना पर्यटक आए भने थाइल्यान्डबाट ४१ हजार ६४३ जना मात्र आएका छन् ।

यस्तै, सातौं नम्बरमा रहेको अष्ट्रेलियाबाट आउने पर्यटकको संख्यामा झिनो वृद्धि देखिए पनि जर्मनी, म्यानमार र फ्रान्सबाट आउने पर्यटक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्