बाबुआमाको गल्तीले छोराछोरीलाई कारागारमा सास्ती



सल्यान : बहुविवाहको आरोपमा सजाय भोग्दै आएका एक दम्पतीसँगै उनका तीन सन्तानले पनि कैदी जीवन बिताउन बाध्य भएका छन् । सल्यान बाग्चौर नरपालिका–७ कोटबारा निवासी टेकबहादुर रावत र गंगा रावतका तीन सन्तानले बिना कारण कारागारमा बस्नुपर्ने बाध्यता रहेको छ ।

विद्यालय जाने उमेरकी ६ वर्षीया चेतना रावत, चार वर्षीया वर्षा रावत र चौध महिनाका हिक्मत रावत अभिभावकसँगै कारागारमा कैद हुन बाध्य भएका हुन् । अभिभावकसँगै कारागारमा कैद हुनुपर्दा बालबालिका घुमफिर, पठनपाठन, खेलकुद र मनोरञ्जन लगायत सुविधाबाट वञ्चित भएका छन् ।

यस्तै बागचौर नरपालिका–१२ बाँफुखोला निवासी लोकबहादुर डाँगी र दिलमाया डाँगीका नौ महिने छोरा दीपेश डाँगी पनि कारागारमा अभिभावकसँग बस्दै आएका छन् । अभिभावकले गरेको गल्तीको सजाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि हाल चार जना बालबालिका जिल्ला कारागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागारका जेलर बल बहादुर केसीले जानकारी दिए ।

‘दुई वर्षभन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था भएपनि अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा कारागारमा राख्नुपर्ने बाध्यता छ,’ उनले भने ।

बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । कारागारमा कैदी बन्दीको जिवन बिताइ रहेका अभिभावकसँग रहेका बालबालिकालाई छोटो समयका लागि जिम्मा लिने कोही नभएकाले समस्या भएको उनले बताए । यसअघि कारागारमा रहेका चार बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको जिम्मा लगाइएको थियो ।

यसैगरी पढ्ने उमेरमा पनि विद्यालय जान नपाउने भएपछि कारागारमा कैदी जिवन बिताई रहेकी सलिना गहतराजले चेतना र उनकी बहिनी वर्षालाई पढाउने गरेका छन् । विद्यालय जान नपाउने बालबालिकालाई अहिले कारागारमा वर्णमाला र सामान्य पुस्तकबाट पढ्न सिकाउने गरेको बताउँदै उनले शैक्षिक सामाग्री पर्याप्त मात्रामा उपलब्ध भए कारागार भित्रैपनि राम्रोसँग पढाउन सकिने बताए ।

उनले कारागारमा ह्वाइट बोर्ड र मार्कर लगायतका कपी पेन्सिलको आवश्यकता रहेकाले शैक्षिक सामाग्री उपलब्ध गराउन सके कारागारमा आउने बालबालिकालाई थोरै मात्रामा भएपनि शिक्षित गराउन सकिने बताए ।

उनले अहिले दुइ दिदी बहिनीलाई पढाउनुका साथै डान्स समेत सिकाउने गरेको बताइन् । अभिभावकले गरेको गल्तीमा नाबालक बालबालिकाहरूले समेत कारागारमा बस्नुपर्ने बाध्यता रहेको छ उनले भने, यस्तो अवस्थामा कारागार भित्रैपनि शिक्षा दिन सकियो भने भोलीको दिनमा बालबालिकालाई सहज हुने थियो ।

यता शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीसँग यस विषयमा कुरा गर्दा नगरले केही मात्रामा सहयोग गर्न सक्ने प्रतिबद्धता जनाएका छन् । उनले कारागारलाई केही दिनभित्रै शैक्षिक सामाग्री उपलब्ध गराउने बताए । उनले समय समयमा यस्ता विषयको उठान गरेर सचेत गराएकोमा इन्सेकलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्