राष्ट्रिययसभा निर्वाचनको पूर्व सन्ध्यामा राजपाभित्र चुलियो विवाद



जनकपुरधाम : भोली हुन गईरहेको राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेका बेला राष्ट्रिय जनता पार्टी नेपाल भित्र असन्तुष्टिका स्वरहरु चुलिएको छ ।

महोत्तरीको बर्दिवासमा आयोजित राजपाको बैठकमै पार्टीका केन्द्रस्तरका पदाधिकारीहरुले असन्तुष्टि व्यक्त गरेपछि पार्टी भित्रको विवाद चुलिएको हो ।

बैठकमा ७ जना केन्द्रीय तहका नेताहरुले राजपाका संयोजकलाई लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा राजपा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छ ।

निर्वाचनमा आफ्नो सीट जोगाउनका लागि राजपाले सत्तारुढ दल नेकपासंग दुई बुँदे सहमति गरेपछि सरकारमा सहभागी हुन लागेको हल्ला समेत चलेको थियो ।

सोही विषयमा राजपाका नेता कार्यकर्ताहरुले यस विषयमा छलफल चलाएर मात्रै निर्णय गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

राजपाको अध्यक्षमण्डल एकलौटी रुपमा अगाडी बढिरहेको आरोप लगाउँदै उनीहरुले लिखित रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

असन्तुष्टि व्यक्त गर्नेहरुमा राजपाका वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल तथा तीनजना उपाध्यक्षहरु गोविन्द चौधरी, रमेशप्रसाद यादव, सत्यनारायण मण्डल र महामन्त्रीहरु डा. विजयकुमार सिंह एवं जितेन्द्र सिंह रहेका छन् । असन्तुष्टि व्यक्त गर्ने अधिकांश नेताहरु राजपाका अध्यक्ष मण्डलका महन्थ ठाकुर नजिकका नेता हुन् ।

दुईवटा छुट्टाछुट्टै पत्र बुझाएर नेताहरुले असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एकजना नेताले बताए । एक पत्रमा ५ जनाले तथा अर्को पत्रमा दुई जनाले अध्यक्षमण्डल समक्ष असन्तुटि व्यक्त गरेका छन् ।

उनीहरुले बुझाएको पत्रमा राजपा संघिय सरकारमा सहभागी भईरहेको हल्ला चलेको छ, यो हल्लामा सरकारमा सहभागी नेताहरु तथा राजपाका अध्यक्षमण्डलका नेताहरुसंग भईरहेको भेटघाटले बल दिईरहेको भनिएको छ ।

पत्रमा भनिएको छ ‘पार्टीमा छलफल नै नगर्ने तर बाहिरै मिलाएर मन्त्री बन्न लागेपछि आमकार्यकर्ताको प्रतिनिधित्व गर्दै हामीले विरोध गर्नुपरेको हो’।

राष्ट्रियसभा निर्वाचन पूर्व २ दिनअघि यस प्रकारका विरोध गरेर असन्तुष्ट पक्षको पत्रले दबाब नै बनाएको विश्लेषकहरूको दाबी छ । अहिले प्रदेश २ मा राजपा र नेकपाका नेताहरू संयुक्त रूपले राष्ट्रियसभा निर्वाचनको प्रचारमा लागेका छन् ।

यस अघि सभामुख चयन गर्ने विषयमा संघमा राजपाले हस्ताक्षर गरेर नै समर्थन गरेकोले राजपा निकट भविष्यमा संघिय सरकारमा सहभागी हुने सम्भावना प्रबल रहेको राजनीतिक विश्लेषक डा। सुरेन्द्र लाभले बताए ।

उनले भने, राजपा सरकारमा सहभागी हुनका लागि आतुर देखिएको छ, फेरी पार्टी भित्रै सरकारमा सहभागी नहुनका लागि दवाब बनाउने समूह समेत सक्रिय देखिनु राजपा पार्टीका लागि सुखद संकेत होइन ।’

विश्लेषक लाभले जति शक्तिका साथ चुनावमा होमिएपनि यस प्रकारको असन्तुष्टिले राष्टियसभाको निर्वाचनमा प्रत्यक्ष असर पर्ने बताए । उनले भने‘ राजपा पार्टी भित्र यही स्थिति रह्यो भने पार्टी फुट्ने संघारमा जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्