सभामुखलाई उपराष्ट्रपति भवन



काठमाडौँ : सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बस्नुभएको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो ।

यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्नुभएको छ । तिमिल्सिनाले प्रयोग गर्नुभएको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर पहिलो साता सर्नुभएको थियो । सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ । रङरोगन लगायतका काम करिब सकिएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नयाँ सभामुखका लागि भवन व्यवस्थापन भइसकेको बताउनुभयो । योगीले भन्नुभयो, “हामीले सभामुख चयनका लागि अधिवेशन आह्वान भएसँगै सहरी विकासलाई निवास व्यवस्थापनको आग्रह गरेका थियौँ । पुसको पहिलो साताभित्र सभामुख निर्वाचित हुने अनुमानमा हामीले सोअघि नै पत्राचार गरेका थियौँ । सहरी विकासले उपराष्ट्रपति यसअघि बस्नुभएको भवन तयार गरिदिएको छ । शुक्रबार सचिवालयले निवासको अनुगमन पनि गर्दैछ । रङरोगन लगायतको सबै काम करिब सकिएको छ ।”

लौनचौरको उक्त निवास काठमाडौँ महानगरपालिकाका प्रमुखले समेत प्रयोग गर्नुभएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका लागि व्यवस्थापन गरिएको थियो । प्रमुख आयुक्तका लागि कार्यालयसँगै निवास व्यवस्थापन भएपछि उक्त भवनलाई उपराष्ट्रपति निवास बनाइएको थियो ।

तत्कालीन उपराष्ट्रपति परमानन्द झा उक्त भवनमा बस्नुभएको थियो । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सोही भवनमा बस्नुभयो । उहाँ सरेपछि खाली भएको निवासमा केही समय पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत बस्नुभयो । समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री भट्टराई पुल्चोक सर्नुभएको थियो । त्यसपछि भवन खाली नै थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्