बेनीको खानेपानीमा स्मार्ट वाटर टेक्नोलोजीको प्रयोग गर्ने तयारी



म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरणको काम गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्मार्ट वाटर टेक्नोलोजीको प्रयोग गरी खानेपानी वितरण गर्ने तयारी शुरु गरेको छ ।

 

संस्थाको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणमा उक्त कुराको जानकारी गराइएको हो । आयोजनाको दिगोपना र प्रविधिमैत्री बनाउनको लागि यो प्रविधि प्रयोग गर्न लागिएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवाशकुमार श्रेष्ठले बताए । बेनीमा करिब १९ हजार उपभोक्तालाई यस संस्थाले शुद्ध खानेपानी वितरण गर्दै आएको छ । 

 

साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले बेनी बजारबासीमा खानेपानी वितरण गर्दै आएको यस संस्थाले सेवालाई गुणस्तरीय र आयोजनाको सुरक्षाको लागि प्रविधिमैत्री कार्यक्रमले थप टेवा पुग्ने बताए । 

 

मुहानदेखि मुखसम्म शुद्ध र स्वच्छ खानेपानी पुर्‍याउन नयाँ थप हुने प्रविधिले सहयोग पुग्ने उनको भनाइ थियो ।

 

संस्थाका अध्यक्ष श्रेष्ठले बेनी बजारमा प्रविधिमैत्री खानेपानी वितरणको लागि सुरु गर्न लागिएको स्मार्ट खानेपानी कार्यक्रमको कोरीयाली संस्थाले प्रारम्भीक अध्ययन गरि थप काम सुरु गर्न लागेको जानकारी दिए । 

 

उनले आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्नको लागि ३ अर्ब लागत अनुमान गरिएको भए पनि तत्कालका आवश्यकतालाई ध्यानमा राखेर आयोजनालाई प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्