अग्नी सापकोटालाई माघ १२ गते हाजिर हुन सर्वोच्चको आदेश



काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटालाई १२ गते हाजिर हुन भनेको छ ।

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ तर अदालतले पनि सापकोटालाई १२ गते नै अदालतमा हाजिर हुन भनेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत १० बजे तारेखका लागि हाजिर हुन भनिएको अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग उनले रिटमा गरेका छन् ।

सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वा्चित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवारी छ ।

सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यहार गरेको आरोप लगोपछि तत्कालिन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्