श्रीमान्बाट कुटिएकी पूजाको अवस्था दयनीयः उपचारका लागि रकम अभाव



पाल्पा : श्रीमान्बाट मरणासन्न हुने गरी कुटिएकी रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १९ वर्षीया पूजा सोमै परियारको उपचारमा आर्थिक अभाव भएको छ ।

तीन वर्ष अघि रामपुर नगरपालिका–४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर सोमैसित अन्र्तजातीय विवाह गरेकी निस्दी–५ पाक्दीकी १९ वर्षीया पूजा सोमै (परियार) लाई गत असोज ८ गते राति आफ्नै पतिले मरणासन्न हुने गरी कुटेका थिए । बिहे गर्दाको समयमा भोमबहादुरको उमेर २१ र पूजाको उमेर १५ वर्षको थियो ।

उनीहरुको आपसमा माया प्रेम बसेपछि प्रेम विवाह भएको थियो । पूजालाई भोमबहादुरले आफ्नो घरमा भित्र्याए पनि उनले घरमा कहिल्यै पनि बुहारीको वातावरण पाइनन् । बिहेपछि विदेश गएका भोमबहादुर गत भदौ महिनामा नेपाल आएका थिए ।

घर फर्केपछि भोमबहादुरले हरेक दिनजसो श्रीमती पूजामाथि विभिन्न शङ्का उपशङ्का गर्दै, अर्कै परपुरुषसित हेलमेल गरेको आरोप लगाउँदै कुटपिट गर्न थालेको यसअघि पूजाले आफन्तलाई बताउने गरेको आमा डिलकुमारी परियारले जानकारी दिए।

असोज ८ गते राति भोमबहादुरले पूजालाई मरणासन्न हुने गरि कुटेर बेहोस बनाएपछि उनका ससुराले राति नै पूजाको माइतीमा खबर गरेका थिए। पानीमा छाता ओढेर छोरीको अवस्थाबारे बुझ्नमध्ये राति बुबाआमा नै पूजाको घर रामपुर आएका थिए ।

पानी परिरहेकाले रातभरि खोजी गर्दा पनि एम्बुलेन्स पाइएन । बिहान भएपछि मात्रै पूजालाई तीन घण्टा लगाएर एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेजमा पु¥याएको उनको बुबा लालबहादुर परियारले जानकारी दिए।

त्यहाँ उपचार सम्भव नभएपछि असोज २९ गते बुटवलको क्रिमसन अस्पतालमा उनलाई लगिएको थियो । उनको ८४ दिनसम्म त्यहाँ उपचार हुँदा अस्पताललाई रु एक लाख ६२ हजार ४०० तिर्नुपर्ने छ । ती रकममध्ये माइती पक्षले ऋणधन गरी रु ८७ हजार ९३० भुक्तानी गरेका थिए ।

अन्य बाँकी रकम बुझाउन नसकेपछि अप्ठेरोमा परेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको पहलमा अस्पतालले अन्य रकम छुट दिएको थियो ।

पूजा पूर्णरुपमा निको भएको छैन । उपचारमा आर्थिक अभाव भएपछि माइती पक्षले अहिले पूजालाई आफैं कहाँ ल्याएर राखेका छन् । छोरीको दिसापिसाब ओछ्यानमा नै हुन्छ, बोल्ने अवस्था छैन, टाउकोमा चोट छ, शरीरको दायाँ भाग चल्दैन, ढाडमा गहिरो घाउ छ ।

छोरीको स्याहारसुसारमै दिन बितेको पूजाकी आमा डिलकुमारीको भनाइ छ । पतिको कुटाइबाट पूजाको टाउको नै फुटेको र उपचारका लागि धेरै रकमको आवश्यकता पर्ने चिकित्सकले बताउँदै आएको छ ।

आर्थिक अभावका कारण उनको थप उपचार हुन नसकिएको पूजाका बाबु लालबहादुरले बताए। पूजाका घरपक्षका आफन्तले एक दिन मात्र पूजाको अवस्था बुझ्न अस्पतालमा आएको र त्यसपछि फर्केर नआएको लालबहादुरको भनाइ छ ।

पूजाको उपचारका लागि अब रु एक लाख ५० हजार लाग्ने अस्पतालले बताए पनि उपचारका लागि आर्थिक समस्या रहेको छ । छोरीको उपचारका लागि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका तथा तानसेन नगरपालिकाको टोलटोलमा चन्दा सहयोग उठाउन हिँडे पनि चाहिए जति रकम सङ्कलन हुन नसकेको उनको भनाइ छ ।

निस्दी गाउँपालिकाको पाक्दी डाँडाभेगमा बस्दै आएका पूजाको माइती पक्षको थोरै र साँघुरो जग्गामा घर छ । दिनभरि मजदूरी गरे मात्रै साँझ बिहान खान पाइने अवस्था छ, उनको माइती पक्षको ।

पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अरोपमा पूजाका श्रीमान् भोमबहादुर जिल्ला अदालत पाल्पाको कात्तिक १९ गतेको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्