सेटिङमा नदी दोहन, राजस्व असुल्न अनुगमन



सिन्धुपाल्चोक: वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार देशभर ६ हजार नदीनाला छन् । ती नदी ‘दुहुनो गाई’ बनाइएको छ । सडकखण्ड पुगेका ती सबै नदीनाला पुग्दा सजिलैसँग स्काभेटर, टिपर, बेल्चा, क्रसर र कामदार भेटिन्छन् । कर संकलनको अचुक साधनका रूपमा राजनीतिक सेटिङमा नदीजन्य पदार्थको दोहन हुने गरेको छ । राजनीतिक आडमै खोलाबाट ढुंगाजन्य पदार्थको मनपरी ओसारपसार भइरहेको छ ।

राजस्व संकलनको प्रमुख माध्यमका रूपमा अहिले ढुंगाजन्य वस्तुहरु ओसारपसार भइरहेको छ । राज्यका नियामक निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा खोलाको दोहन भइरहेको छ । सरकारले अनुगमनका नाममा औपचारिकता मात्रै निभाउने गरेको पाइएको छ ।सिन्धुपाल्चोकस्थित सुनकोसी नदीमा अवैध उत्खनन भइरहँदासमेत सरोकारवाला निकाय मौन देखिन्छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुले नै अवैध उत्खननलाई संरक्षण दिँदै आएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले कर संकलनका लागि उत्खनन कार्य भइरहेको बताए । उनले ढुंगाजन्य पदार्थ उत्खननका लागि ५ करोड ७५ लाखको टेन्डर आह्वान भएको बताए । प्रमुख तामाङले भने, ‘रातिराति पनि ढुंगाजन्य वस्तु उत्खनन हुन्छ, राति कसरी खोलामा पुग्ने त ?’ स्थानीयका अनुसार नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा प्रमुखकै नजिकका आफन्तको ठेक्कापट्टा छ ।

अहिले सो क्षेत्रमा नदीलाई खाडल बनाएर दोहन भइरहेको छ । खोलामा स्काभेटरको प्रयोग निषेध गरिए पनि अवैध तरिकाले स्काभेटर प्रयोग भइरहेको वातावरण संरक्षणका क्षेत्रमा वकालत गर्दै आएका अधिवक्ता अशोक श्रेष्ठले बताए । नदीको सतह नै नामेट हुने गरी पाँच मिटर गहिरो खाडल बनाएर सुनकोसी नदीमा ढुंगाजन्य वस्तु उत्खनन भइरहेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्