उत्तर कोरिया–अमेरिका शिखर वार्ता फेब्रुअरीमा गर्न ट्रम्पको प्रस्ताव



टोकियो : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गरेका छन् । उनले शिखर बैठक भियतनाममा हुनसक्ने बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

 

उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुवै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो । 

 

उत्तर कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसप्रति औपचारिक प्रतिक्रिया दिनेक्रममा रहेको जापानको अखबार योमुरी शिम्बुनले सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । 

 

प्योङयाङ र वासिङ्टनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुवै मुलुक घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता किमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

 

उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकुवा नभएकामा उत्तर कोरियाली नेता किमले निरन्तर असन्तुष्टि व्यक्त गरिरहेका छन् जब कि अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रम पूर्ण पालना नहुँदासम्म प्रतिबन्ध फुकुवा नहुने अडान राखेको छ । 

 

ट्रम्प र किमको दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा हुने अपेक्षा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्