प्रत्यक्षदर्शी सभामुख भन्छन्- ‘मन्त्रीले सचिवलाई थप्पड हानेकै हुन्’



जनकपुरधाम : प्रदेश २ का सभामुख सरोजकुमार यादवले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको बताएका छन् । 

सभामुख यादव घटनाका प्रत्यक्षदर्शी हुन् । सचिव झालाई थप्पड हानेको समयमा उनी मन्त्रीको कार्यकक्षमै उपस्थित थिए । 

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए । 

सङ्घीय सरकारका सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् । 

घटनाको चौतर्फी आलोचना भइरहेको छ । प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । 

मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्