प्रदेश २ सरकारले बढायो छोरी बिमाको रकम, अब ३ लाखसम्मको बिमा हुने



जनकपुरधाम : प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकमलाई बढाएर ३ लाख पुर्याएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बिमा हुने जानकारी दिए ।

यसअघि १ लाखको बिमा मात्रै हुँदै आएकोमा मन्त्रीपरिषदको बैठकबाट यो रकमलाई ३ लाखसम्म पुर्याउने निर्णय गरिएको मुख्यमन्त्री राउतले बताए ।

वि.सं. २०७५ माघ १ गतेबाट शुरु गरिएको छोरी शिक्षा बिमा कार्यक्रमलाई अझै व्यवस्थित बनाउनका लागि यस प्रकारको निर्णय गरिएको मुख्यमन्त्री राउतको भनाई थियो । उनले छोरी विमा कार्यक्रममा सहयोग पुर्याउनका लागि सबै पालिकालाई समेत अनुरोध गरे ।

यसअघि बिमा गराईसकेका छोरीहरुको बिमा समेत ३ लाखसम्मको हुने उनले जानकारी दिए ।

प्रदेश सरकारको छोरी बिमा कार्यक्रम अन्तर्गत पछिल्लो वर्ष ७ हजार ४ सय ९१ छोरीहरुको विमा भईसकेको छ भने माघ २ गतेदेखि प्रदेश सरकारले पालिका पालिकामै पुगेर टोली मार्फत आयोजना गरेको छोरी शिक्षा विमा कार्यक्रममा ८ हजार १७ जना छोरीको विमा भईसकेको छ ।

छोरी शिक्षा विमा सप्ताहपछि सबैभन्दा बढी सप्तरी जिल्लामा १ हजार ४ सय ८, सिरहामा १ हजार १ सय २९, धनुषामा ६ सय ६९, महोत्तरीमा ८ सय ४६, सर्लाहीमा १ हजार १ सय ७४, रौतहटमा ८ सय १८, बारामा १ हजार २ सय ३ र पर्सामा ७ सय ७१ छोरीहरुको विमा भइसकेको छ ।

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतद्वारा पर्साको विरगंजका साथै आठवटै जिल्लामा एक साथ सुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुनेछ।

शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन सञ्चालन गरिने व्यवस्था रहेको छ।

यसका साथै प्रदेश सरकारले जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई प्रदेश आयुर्विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारको यो घोषणासंगै प्रादेशिक अस्पताललाई आयुर्विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरित गर्न प्रकृया समेत अगाडी बढाई सकिएको मुख्यमन्त्री राउतले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय पनि गरेको छ । प्रतिष्ठानले मधेश आन्दोलनमा घाइते भएकाहरुको उपचार, जागिर लगायतका आवश्यक्ताहरुको परिपुर्तीका लागि आवश्यक प्रकृयाहरु अगाडी बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्