संसद्को पैसा सरकारी बैंकमा पठाउन सुझाव



काठमाडौं : संसद् सचिवालयबाट हुने आर्थिक कारोबार सरकारी बैंकमार्फत गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले निजी बैंकबाट भइरहेको कारोबार बन्द गर्न माग गरे।

एभरेस्ट बैंकमार्फत भइरहेको कारोबार बन्द गरेर सरकारी वा नेपालीकै स्वामित्व रहेको वाणिज्य बैंकबाट गर्न नेकपाकी सांसद शशि श्रेष्ठले सरकारको ध्यानाकर्षण गराइन्। ‘एभरेस्ट बैंकबाट भइरहेको भुक्तानी बन्द गरेर सरकारी बैंकमार्फत गर्न संसद सचिवालय र सरकारको ध्यानाकर्षण गराउँछु’, शून्य समयमा उनले भनिन्।

विदेशी लगानी भएको बैंकबाट आर्थिक करोबार गर्दा राज्यका महत्त्वपूर्ण निकायमा रहेका व्यक्तिका गोप्य सूचना बाहिरिएको भन्दै सांसदहरूले सरकारी बैंकबाट आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिएका हुन्।

‘एभरेस्ट बैंकको साटो राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गरियोस्, निजी र विदेशी लगानी भएको बैंकबाट होइन, नेकपाकी सांसद बिना श्रेष्ठले भनिन्। सांसद सुरेश राईले पनि नेपाली बैंकबाट नै कारोबार गर्नुपर्ने बताए। संघीय संसद् सचिवालयले सांसद तथा कर्मचारलाई दिने तलब तथा भत्ता भारतीयको समेत लगानी भएको एभरेस्ट बैंकमार्फत भुक्तानी हुने गरेको अन्नपुर्णमा खवर छ।

वाइडवडी छानबिनको प्रतिवेदन किन गोप्य ?

नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वटा वाइडवडी विमानमा भएको अनियमिताबारे सार्वजनिक लेखासमितिले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न सांसदले माग गरेका छन्। समितिअन्तर्गतको उपसमितिले गरेको छानबिन प्रतिवेदन सार्वजनिक नगरी लुकाउन खोजिएको संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आरोप लगाए।

‘खरिद प्रक्रियामा संलग्न केही मन्त्रीलाई जोगाउन खोजिएको छ, प्रतिवेदन अख्तियार पठाउन किन ढिलाइ भएको ? ’ उनले प्रश्न गरे, ‘अनियमिततामा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्छ।’ उनी लेखा समितिले गठन गरेको छानबिन उपसमितिका सदस्य हुन्।

सत्तारूढ दलका सांसद यज्ञराज सुनुवारले यज्ञराज सुनुवारले वाइडबडी खरिदमा भएको अनियमितामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडिएको भन्दै वास्तविकता जानकारी गराउनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्