कर्मचारीलाई मुक्का हाने परिणाम खतरनाक : ढकाल



काठमाडौं : निजामती कर्मचारी संघको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले मुक्का हान्ने मन्त्रीविरुद्ध कर्मचारी अरिंगाल भएर खनिने चेतावनी दिएका छन् ।

 

काठमाडौंबाट सञ्चालित एउटा अनलाइन समाचार पोर्टलसँग कुरा गर्दै अध्यक्ष ढकालले भने, ‘निजामती सेवा भनेको अरिंगालको गोलो हो ।’ त्यो गोलोलाई नचलाउन उनले मन्त्रीहरुलाई चेतावनी दिए । उनले भने, ‘हामीले मन्त्रीको आदेश मान्ने होइन । हामीले संविधान र कानुनले भनेको कुरा मान्ने हो । आफ्नो स्वार्थ पूरा गर्न कर्मचारीले मानेन भनेर कसैले पनि मुक्का हान्न पाइँदैन । मुक्का हानियो भने त्यसको परिणाम खतरनाक हुन सक्छ ।’

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर आइतबर उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई हातपात गरेका थिए । उनले आफूले भनेको एनजिओलाई पैसा नदिएको भन्दै आफूलाई कुटपिट गरेको आरोप झाले लगाएका छन् । 

सोही सन्दर्भलाई लक्षित गर्दै अध्यक्ष ढकालले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्न कानुनी बाटो भएको बताए । उनले थपे, ‘अनियमितता गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सक्छ तर मन्त्रीले भनेको नमान्दा कुट्न पाइँदैन । कुटेर समस्याको समाधान हुँदैन ।’

उनले कर्मचारीमाथि हुने कुटपिट कुनै पनि हालतमा सह्य नहुने बताए । उनले संघीय वा प्रदेश तहका कुनै पनि कर्मचारीलाई छुने काम नगर्न राजनीतिकर्मीलाई चेतावनी दिए । उनले थपे, ‘आफ्नै कर्मचारीलाई मन्त्रीले मारमुंग्री गर्यो रे भन्दा बाहिर पनि कस्तो सन्देश जान्छ ? मन्त्रीको कसरी इन्जत रहन्छ ? त्यति पनि नजान्ने कस्ता मन्त्री हुन् ?’

प्रतिक्रिया दिनुहोस्