दुई हुन्डी कारोबारी ३५ लाखसहित पक्राउ



काठमाडौं : प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको अभियोगमा दुईजनालाई ३५ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँ बानेश्वरका ३८ वर्षीय सुनिल श्रेष्ठ छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई न्युरोड र विशालबजारबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बा७च २५६९ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा स्रोत खुलाउन नसकिएको रकमसहित बस्नेत पक्राउ परेको बताए । बस्नेतसँग सोधपुछ गर्दा हुन्डीको रकम भएको खुलेको उनले जानकारी दिए ।

 

हुन्डीमा विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेन्जका सञ्चालक सुनिल श्रेष्ठको पनि संलग्नता रहेको देखिएपछि उनलाई पनि समातिएको सिंहले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्