छुरा प्रहार गरी हत्या गरेको आरोपमा भारतीय पक्राउ



विराटनगर: भारतको जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नगरिकलाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी १० शिवनारायण टोलका ४५ वर्षीय कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा भारतको अररियाका १९ वर्षीय पंकजकुमार रायलाई आइतबार राति पक्राउ गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर प्रवेश गर्ने क्रममा पक्राउ गरेको मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । सुनवारको हत्या भएको ९ महिनापछि प्रहरीले रायलाई पक्राउ गरेको हो ।

रायलाई जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य दुई जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्