माघेसंक्रान्ति मेला शुरु (फोटो फिचर)



म्याग्दी : जिल्ला सदरमुकाम बेनीको कालीपुलमा माघेसंक्रान्ति मेला सुरु भएको छ । ‘‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ’’ भन्ने मूल नाराका साथ सोमबारबाट मेला सुरु भएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा सुरु मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरिन् ।

उद्घाटन अघि बेनीमा रहेका विभिन्न जाजातीको पहिचान झल्कने झाँकी सहितको र्‍याली निकालिएको थियो । बेनी बजार परिक्रममा पश्चात् कालिपुलमा मेलाको उद्घाटन भएको थियो ।

मेलामा म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्य प्रतियोगिता, उद्यमशीलता तथा म्याग्दी भ्रमण वर्ष–२०७५ विषयक खुल्ला लोकगीत प्रतियोगितासँगै विभिन्न खेल सञ्चालन हुने समितिका सभापति सुनिता केसीले जानकारी दिइन् ।  

माघ १ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनका स्टल, मौलिक र परम्परागत लोकसंस्कृतिको प्रस्तुति सँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्