मन्त्रीलाई तह लगाउने धम्की



जनकपुरधाम:  प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयमा छानबीन सुरु भएको छ।

आइतबार अपराह्न करिब तीन बजे भएको उक्त घटनावारे छानबीन गर्न तत्कालै बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको थियो। प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदी तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँल सदस्य रहेको उक्त समितिले सोमबारदेखि घटनाको छानबीन सुरु गरेको मन्त्री यादवले बताए।

‘घटनासँग सम्बन्धित आर्थिक मामिला तथा योजना मन्त्रीजीसँग भेटेर कुरा बुझेका छौं’ समितिका संयोजक समेत रहेका मन्त्री यादवले नागरिकसँग भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवसँगै घटनाका प्रत्यक्षदर्शी माननीय सभामुख र सांसद उपेन्द्र महतोजीसँग पनि भेटेर निष्कर्षमा पुगिन्छ।’ मन्त्री यादवले घटना विवरणको आधारमा जोकोही दोषी देखिए पनि कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले घटनाको विरोध गर्दै दोषी उपर कारवाहीको माग सहित मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन्। ‘मन्त्रीकै कार्यकक्षमा एक सचिवमाथि हातपात हुने घटनाले समग्र कर्मचारीहरुको मनोबल गिरेको छ’ ज्ञापनपत्रमा लेखिएको छ, ‘उक्त घटनाको छानबीन गरी दोषी उपर कारवाही होस्। २४ घण्टाभित्र दोषीको पहिचान गरी कारवाही प्रक्रिया अघि नबढे हामी सशक्त आन्दोलनमा उत्रिन्छौं।’ ज्ञापन पत्रमा युनियनका धनुषा अध्यक्ष रामबाबु साह, महोत्तरी अध्यक्ष राजीशरण यादव, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका धनुषा अध्यक्ष धनेश्वर यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष नवलकिशोर यादव लगायतले हस्ताक्षर गरेका नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्