नेकपा एकता कार्यदलसहित कार्यकर्ता अलमलमा



काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका लागि गठन गरेको कार्यदलसहित नेता कार्यकर्ता अलमलमा परेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई ‘नेकपा’ भएको ३ माघमा आठ महिना पुग्दै छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलले समयमै काम गर्न नसकेपछि हजारांै नेता कार्यकर्ता अलमलमा परेका छन् ।

कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो । तर, पुस मसान्तभित्रै पार्टी एकताको काम कार्यदलले टुंगो लगाउन सकेन । प्रदेश कमिटी हेरफेर विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले पाएको जिम्मेवारी पूरा गर्न अझै समय लाग्ने जनाएका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा सचिवालयले पार्टी एकता टुंगो लगाउन नसकेपछि स्थायी कमिटी बैठकबाट छुट्टै कार्यदल गठन भएको थियो । १२ पुसमा सम्पन्न पार्टी स्थायी कमिटी बैठकले नौ सदस्यीय कार्यदल गठन भएको थियो । तर, कार्यदलको बैठक बस्दा एकताको टुंगो लगाउने विषयमा सहमति हुन नसकेको ती सदस्यले जनाए ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् । कार्यदलले पुस मसान्तभित्रैमा पार्टी एकताको गृह कार्य गरी प्रतिवेदन बुझाउने गरी पटक पटक बैठक बस्यो ।

कार्यदलको बैठकमा प्रदेश कमिटीमा हेरफेर गर्ने प्रस्ताव आएपछि टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहभागी एक सदस्यका अनुसार ६ पटक कार्यदलको बैठक बसे पनि एकताको विषयमा कुनै टुंगो लाग्न सकेको छैन् । पुस मसान्तभित्रमा एकताको बाँकी काम टुंगो लगाउने गरी प्रस्ताव तयार गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी बैठकले कार्यदललाई केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारी दिएको छ । पार्टी अध्यक्षद्वय ओली र दाहालले कार्यदलका सबै सदस्यलाई बोलाएर प्रदेश कमिटी हेरफेरदेखि बाँकी काम टुंगो लगाउने अधिकार रहेको बताउँदै टुंग्याउन निर्देशन दिइसकेका छन् ।

पार्टी एकता भएको आठ महिनामा केन्द्रीय कमिटी, सचिवालय र प्रदेश कमिटीको गठन भएको छ । स्थानीय तहसहित विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा हजारांै नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । यसकारण, पार्टीको कामसमेत स्थानीय स्तरमा हुन सकेको छैन ।कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज शंकर पोखरेल प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको छ । प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदलले अन्य तहको कमिटी निर्माणबारे टुंगोमा पुग्न नसकेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्