आइसीसी विश्वकप लिग दुईको तयारी पूरा



काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग दुईको तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो । आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको उनले बताए । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उनले उल्लेख गरे ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने पनि बताए ।

मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उनको भनाइ थियो । क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उदघाटन खेल ओमानसित खेल्दैछ ।

पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताएका छन् । उनीहरुले आफ्नो टोली बलियो रहेको दाबीसमेत गरेका छन् ।

कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उनको भनाई छ ।

पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उनले बताए । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताए ।

यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गरेका छन् ।
अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ विजयी भएको छ । नेपालले उक्त खेल ३७ रनले जितेको हो । मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ ले ब्याटिङ गर्दै १११ रन बनायो । ११२ रनको विजयी लक्ष्य पछ््याएको अमेरिका ३३.२ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो ।

नेपालले पहिला ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए । यस क्रममा उनले ५ चौका हाने । पवन सर्राफले १९ रन बनाए भने बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले २–२ विकेट लिए ।

यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाए । बलिङतर्फ नेपालका शेर मल्लले ४, सागर ढकालले ३ तथा पवन शर्राफले २ विकेट लिए । रासस

प्रतिक्रिया दिनुहोस्