त्रुटिपूर्ण भर्ना प्रक्रिया सच्याउन माग



काठमाडौँ : अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै अविलम्ब सच्याउन माग गरेको छ । 

 

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले आज विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाउँदै नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

 

क्रान्तिकारीले गत पुस २४ गतेको सूचनाका आधारमा तोकिएको स्नातक तहको भर्नाअन्तर्गत कोटा प्रणालीको लागि गरिएको भर्ना अन्त्यन्त अवैज्ञानिक र अव्यवहारिक भई त्रुटि भएको जनाएको छ । 

 

प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा मेरिट र कोटाको छुट्टाछुट्टै नतिजा सार्वजनिक नगरिएकाले मेरिट र कोटाको कति क्रम सङ्ख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको आरोप क्रान्तिकारीले लगाएको छ । 

 

यसबाट कोटा सिटमा भर्ना हुँदा कोटामा बढी अङ्क प्राप्त गर्ने वास्तविक विद्यार्थीले अध्ययन गर्नबाट वञ्चित भई कम अङ्क प्राप्त गर्ने विद्यार्थी भर्ना हुने स्थिति आएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्