मन्त्रीले सचिवलाई किन कुटे, स्वयं सचिव के भन्छन् ? (अन्तर्वार्ता)



प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा बीचको झगडा अहिले चर्चाको विषय बनेको छ । मन्त्रीले सचिवलाई किन कुटे स्वयं सचिव के भनिरहेका छन । 

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले तपाईलाई किन कुट्नु भएको ?

त्यो त उहाँलाई नै थाहा होला । गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रममा तपाईलाई मैले भनेको एनजिओ किन पारिदिनु भएन भन्ने आक्रोश उहाँमा थियो । यो विषयलाई निहुँ बनाएर म माथि जाइलाग्नु भयो । यसै सन्दर्भलाई लिएर शनिबार साँझ मन्त्री विजय यादवले मलाई फोन पनि गर्नु भएको थियो । मैले अंक कम ल्याएकाले नपरेको जानकारी दिएँ, उहाँले फाइल लिएर आउन निर्देशन दिनु भयो ।

मैले एनजीओबाट लिएको पैसा तपाइको बाउले तिर्छ भन्नु भो मैले मेरो बाउको नाम न लिनुस भन्ने बित्तिक्कै बडो जोडले एक थप्पड हान्नु भो, उहाँले लगाएको औठीले मेरो गाला चिथोरियो ।

मन्त्रीको कार्यकक्षमा किन पुग्नुभयो ?

आइतबार उहाँको पीए मेरो कार्यकक्ष मा आएर अर्थ मन्त्री ज्युले बोलाउनु भएको छ, भन्नु भयो । मैले वन मन्त्री राम नरेश राय ज्युसंग सोधे उहाँले जानुस भन्नु भो अनि म उहाँको कार्यकक्षमा गएँ । कसरी एनजीओ लिस्ट बन्यो मन्त्रीज्युलाई बुझाउछु भन्ने थियो तर मन्त्रीजी उल्टै गाली गरेर कुट्नुभयो ।

मन्त्रीको कार्यकक्षमा पुगेपछि के के भएको थियो ?

मन्त्री विजय यादवको पीए संगै उहाँको कार्यकक्ष गएँ । सोफामा संगैको व्यक्ति सभामुख हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । उहाँलाई चिया अनुरोध गर्ने मान्छेबाट थाहा पाएँ उहाँ सभामुख हुनुहुँदोरहेछ । मैले कल्पनासम्म गरेको थिईन सभामुखसंग यसरी मन्त्रालयमा भेट हुन्छ भनेर । अन्जानमा सभामुखसंग बस्न पुगेकोमा क्षमा माग्दै, बाहिरिए र बैठकमा बसेँ । बैठकमा अर्थमन्त्री बस्ने सोफामा अर्कै मान्छे बसेको थियो । त्यहाँ एक जना मधेश आन्दोलनको घाइते पनि थिए आर्थिक सहयोग माग्न आएका, उहाँलाई चिन्तित देखेर सान्त्वना दिएँ र एक छिन पछि मलाई भेट्नु होला म तपाइलाई व्यक्तिगत सहयोग गर्नेछु भने । त्यसपछि मन्त्रीको पीए आएर बोलाउनु भयो ।

खाली कुर्सीमा बसे, जुन मन्त्री जी को ठीक सामुन्ने थियो । उहाँले तपाई कुर्सी नजिक लिएर मेरो छेउमा बस्नुस भन्नु भयो । त्यस पछि उहाँले रिजल्ट र हिजोको फोन संवादको कुरा गर्नु भयो । मैले एनजीओबाट लिएको पैसा तपाइको बाउले तिर्छ भन्नु भो मैले मेरो बाउको नाम न लिनुस भन्ने बित्तिक्कै बडो जोडले एक थप्पड हान्नु भो, उहाँले लगाएको औठीले मेरो गाला चिथोरियो ।

त्यसपछि के भयो ?

मैले तपाईले ठुलो अन्याय गर्नु भयो मेरो डायरी र फाइल दिनुस, म लाग्छु भने । ‘फाइल माग्ने साला, पहिले पैसा यहा राख’ भन्दै फेरी पिट्न थाल्नु भयो ।सभामुखजीले बिचमा आएर मलाई बचाउनु भयो । सेक्युरिटीले बाहिर तान्न थाल्यो । पछाडीबाट कसैले जोडले एक लात हाने म बाहिर तिर घचेटिएँ । अनि म हल्ला गर्न थाले जुन कुरा भिडियोमा आएकै हो ।

प्रहरीले तपाईलाई किन पक्राउ गर्यो ?

प्रहरीलाई कसले खबर गर्यो शुरुमा मलाई थाहा थिएन । पत्रकारलाई सम्पूर्ण व्योहोरा भन्न थालेकै बेला पुलिस आएर मलाई पक्रन थाल्यो, मैले पक्राउ पुर्जी मागे । पुलिसले जबर्दस्ती उठाएर आफ्नो गाडीमा हालेर जिल्ला प्रहरी लग्यो । बाटोमा प्रहरीबाटै थाहा भयो मन्त्रीजीले नै खबर गर्नु भएको रहेछ । उहाँले उल्टै मलाई हिरासतमा राख्न लगाउनु भएको छ । मैले प्रहरीलाई जोर जबर्दस्ती गर्नु भो भने म वकिल बोलाउछु भने, त्यसपछि एसपी र सिडिओ आउनु भयो । उहाँहरुलाई सम्पूर्ण ब्यहोरा सुनाए । मुहार फुलेको र काटेको हुनाले प्रहरीले मलाई प्राथमिक उपचारका लागि अस्पताल पुर्यायो । अस्पतालपछि मुख्यमन्त्री र प्रमुख सचिबसंग भेट भयो ।

अहिले स्वास्थ्य अवस्था कस्तो छ ?

बल्डप्रेसर घटिरहेको छैन । निकै तनाबमा छु । मैले जानी जानी कुनै गल्ती गरेको छैन । तैपनि कुटाई खानुपरेको छ । मैले जन्मभूमि रहेको प्रदेशलाई बनाउन आएका थिए तर उल्टो भयो । हरेक कुरोमा दबाब । कानुन होइन मेरो आदेश मान्नुस सबैले त्यही भनिरहेका छन ।

तपाईले पनि आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई निकै गाली गर्नुभयो ?

हो । मलाई धेरै चोट लागेको थियो के बोले त्यो बेला बुझन सकिन । मैले हेरिरहेको थिए आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आफै आफना निकटका व्यक्तिलाई फोटो खिच्न भनि रहेका थिए तापनि मैले उहाँलाई अपमान हुने खालका केही कुरो बोलीदिए ।

तर म बाट जुन गल्ती भएको छ त्यसको दण्ड म तिर्न म तयार छु ।

प्रदेश सरकारले तपाई दुबैजनाको झगडालाई लिएर बरिष्ठ मन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा छानबीन समिति गठन गरेको छ यस सम्बन्धमा के भन्नुहुन्छ ? 

न्यायको प्रतिक्षामा म छु । प्रदेश सरकार र संघिय सरकारले मलाई न्याय गर्छन दिन्छ भन्नेमा विश्वस्त छु । सबैजना छानबीन प्रतिवेदनमा के आउछ त्यसको प्रतिक्षामा छन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्