मुलुकमा कम्युनिष्ट शासन लादेको पर्सा कांग्रेसको आरोप



वीरगन्ज : नेपाली काँग्रेस पर्साले सरकारविरुद्ध सडक तताउँने भएको छ । आफ्नो पार्टीका उपसभापती एवं पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छेदार र रुकुम शमशेर राणामाथि अख्यिारले लगाएको भ्रष्टाचारविरुद्धको आरोप सडकमा उत्रिने चेतावनी दिएको हो ।

काँग्रेस पर्साले शुक्रबार श्रीपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका सभापति अजय द्धुवेदीले नेकपाको सरकारले मुलुकमा कम्युनिष्ट शासन लाद्न खोजेको आरोप लगाए । उनले भने, ‘कम्युनिष्ट सरकारले राजनितिक प्रतिषोध साधनको लागि गच्छेदार, राणा र उनको परिवारलाई फसाउँन खोजेको हो ।’

पत्रकार सम्मेलनमा उनले बालुवाटरस्थित ललिता निवासको १२६ रोपनी सरकारी जग्गा प्रकरणमा गच्छेदार, राणा र उनका परिवारलाई राजनैतिक प्रतिसोध राखी बदनियतपूर्ण ढंगले लगाईएको भ्रष्टाचारको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निर्णय सच्याउँन सरकारसँग माग गरे ।

ओली सरकारको निर्देशन र योजनाको आधारमा अख्यितारले भ्रष्टाचारको आरोप लगाएको छ । उनले भने, ‘एउटै प्रकृतिको घटनामा सरकारले आफ्नै पार्टीका नेताहरुलाई किन उन्मुक्ति दिएको छ । सरकारले मुख्य आरोपी रहेका नेकपाका नेतालाई संरक्षण गरी राजनीतिक पूर्वाग्रह र व्यक्तिगत प्रतिशोध राख्न अख्तियार प्रयोग गरिरहेको छ ।

नेकपा सरकारले मुलुकमा कम्युनिष्ट शासन लाद्नकै लागि देशको मिडिया, न्यायालय, प्रजातान्त्रिक व्यवस्था, उद्योग व्यापार, आमजनता लगायत पूरै देशलाई त्रासमा राखेर प्रतिषोध साँध्ने र सबैलाई तर्साएर राख्ने घटनाको रुपमा गच्छेदार र राणामाथि प्रतिषोध साँधने काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्