प्रदेश ३: राजधानी विवादले हिउँदे अधिवेशन अनिश्चित



हेटौँडा: राजधानी र नामकरणको विषय नटुंगिँदा प्रदेश ३ को हिउँदे अधिवेशन अनिश्चित बनेको छ । मंसिरमै सुरु हुनुपर्ने हिउ“दे अधिवेशन माघको पहिलो सातासम्म पनि तोकिएको छैन । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी कहाँ हुने, राजधानीको नाम के हुनेजस्ता विषयमा आन्योल रहेका कारण अधिवेशन प्रभावित भएको बताए । प्रतिनिधिसभामा हिउँदे अधिवेशन सुरु भइसकेको र अब  प्रदेश सभाको हिउँदे अधिवेशन पनि सुरु गर्नुपर्नेमा राजधानीकै विषयमा तालमेल नमिल्दा ढिलाइ भएको सभामुख श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् बैठकको निर्णय र प्रदेश प्रमुखबाट स्वीकृत गराएपछि हिउँदे अधिवेशनका लागि बैठक बोलाउन सक्ने प्रावधान छ । उनका अनुसार मन्त्रिपरिषद्बाट हालसम्म हिउँदे अधिवेशनका लागि कुनै निर्णय भएको छैन भने प्रदेश प्रमुखस“ग पनि यस विषयमा छलफल भएको छैन । सभामुख श्रेष्ठले ११ पुसमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

राजधानी र नामकरणकै लागि मात्र अधिवेशन सुरु गर्ने अवस्था नबनेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । अब हिउँदे अधिवेशन सुरु भएपछि निरन्तर बैठक अघि बढाउने योजनामा प्रदेश सरकार छ । मुख्यमन्त्रीको कार्यालयले हिउँदे अधिवेशन सुरु भएपछि प्रदेश सभालाई धेरै बिजनेस दिने गरी सरकार लागिपरेको जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार हालसम्म ६१ वटा बैठक भइसकेका छन् । प्रदेश सभामा दर्ता भएका २८ वटा विधेयकमध्ये २४ को प्रमाणीकरण, २५ पारित भएका छन् भने ३ वटामा सामान्य छलफल भइरहेको छ । प्रदेश राष्ट्रिय वन, प्रदेशभित्रका औद्योगिक व्यवस्थापन गर्न बनेको र प्रदेश सहकारी व्यवस्था गर्न बनेको विधेयकबारे सामान्यपछि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रदेश सभा सचिवालयकी अधिकृत सुनिता गजुरेलले जानकारी दिइन् ।   

माघभित्रै राजधानी नतोके सरकारको औचित्य छैन : बानियाँ

प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानिया“ले माघभित्रै राजधानी नतोके सरकारको औचित्य सकिने बताए । उनले प्रदेश सभा गठन भएको एक वर्ष बितिसक्दा पनि राजधानी र नाम तोक्ने सवालमा सरकार मूकदर्शक बनेको आरोप लगाए । ‘प्रदेश सांसद पनि रुष्ट हुन थालेका छन्,’ उनले भने, ‘अब माघभित्र राजधानी तोकिएन भने सरकार र प्रदेश सभाको औचित्य छैन ।’

बानियाँका अनुसार हेटौँडा अस्थायी राजधानी हो भन्ने मानसिकताका कारण अधिकांश प्रदेश सांसदले हालसम्म घर भाडामा समेत नलिएको र सबै सांसद अस्थायी मानसिकतामै काम गरिरहेका छन् । राजधानी, नाम टुंग्याउने जिम्मा सबैको भएका कारण एकजुट भएर माघभित्रै तोक्नुपर्ने उनले बताए ।

हिउँदे अधिवेशनमा राजधानी टुंगिन्छ : मुख्यमन्त्री

हिउँदे अधिवेशनमा राजधानी र नामको विषय टुंग्याउने कसरत भइरहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘राजधानी र नामकै लागि अधिवेशन सुरु गर्नेभन्दा पनि प्रदेश सभालाई सरकारले बिजनेस दिने गरी बैठक बोलाउने हो,’ मुख्मन्त्री पौडेलले भने, ‘राजधानी तोक्न दलहरूबीच छलफल भइरहेको छ ।’ मुख्यमन्त्री पौडेलले सरकारले अब कुनै बहानाबाजी नगरी राजधानी र नामको विषय अघि सार्ने सोच बनाइसकेको बताएका नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्