बलात्कार आरोप : प्रमाणित नभएसम्म रोनाल्डो निर्दोष छन् – पोर्चुगल प्रधानमन्त्री



काठमाडौं : पोर्चुगलका प्रधानमन्त्री एन्टोनिया कोस्टाले बलात्कारको आरोप लागेका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोको प्रतिरक्षा गरेका छन् । 

 

स्पेनको ल्यान्जारोतेमा शनिवार एक टेलिभिजन च्यानलसँग कुरा गर्दै कोस्टाले दोषी प्रमाणित नभएसम्म रोनाल्डोलाई निर्दोष मानिनुपर्ने बताए । 

 

कसैमाथि आरोप लगाउनेबित्तिकै ऊ अपराधी नभइहाल्ने कोस्टाको भनाइ छ । उनले भने, ‘हामीहरूसँग कुनै कुराको प्रमाण छ भने त्यो हो कि रोनाल्डो एक असाधारण खेलाडी, अद्भुत फूटबलर र सम्मानित व्यक्ति हुन् ।

 

उनले पोर्चुगललाई सम्मान दिलाएका छन् र रोनाल्डोको कीर्तिमानमा कुनै धब्बा नलागोस् भनी हामी कामना गर्छौं ।’

 

अघिल्लो हप्ता क्याथरिन मायोर्गा नामक महिलाले एक मुद्दा दर्ता गरेर रोनाल्डोले आफूमाथि सन् २००९ मा लास भेगासमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । प्रहरीले त्यसमा अनुसन्धान शुरू गरिसकेको छ । 

 

रोनाल्डोले बलात्कारका सबै आरोपहरू अस्वीकार गरेका छन् । 

 

रोनाल्डोको इटालेली क्लब युभेन्टसले उनको समर्थन गरेको छ र उनलाई ठूलो च्याम्पियन भनेको छ । तर उनका प्रायोजक नाइकी र भिडियो गेम निर्माता ईए स्पोर्ट्सले आरोपमाथि चिन्ता प्रकट गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्