रहस्यमयी लहरीले प्रसिद्ध ढोरबाराही मन्दिर ओझेलमा



तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । 

चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित ढोरबाराही मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् । पोखरीमा पन्ध्र÷पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमयी लहरी (पानी घटबढ) ले यस मन्दिरको महिमा र आस्थालाई अझ उँचो राख्न सहयोग पु¥याएको छ । 

मन्दिरका पुजारी चिरञ्जीवी लम्साल ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ति रहेको बताउँछन् । उनका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ र एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । 

उनी भन्छन् – “विगत धेरै वर्षदेखि मन्दिर परिसरमा रहेको पोखरीबाट लहरी छुट्ने गरेको छ । यसलाई महत्वपूर्ण दैवी शक्तिका रुपमा मानिँदै आइएको छ । कसरी लहरी छुट्छ अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन ।” 

विसं २०४२ देखि २०४६ सालसम्म पोखरीमा लहरी छुट्न बन्द भएको थियो । त्यसयता निरन्तर छुटिरहेको लहरी विसं २०६६ सालको साउन महीनामा आएर बन्द भएको स्थानीयवासी शिवशङ्कर बानियाँले बताए । उक्त पोखरीमा हिउँद याममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । 

पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ । 

मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतका अनुसार लहरी छुटेका बेला पानीको ठूलो भेल आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा मुहानतर्फ बाहिर निस्कन्छन् जसले गर्दा यहाँ पुग्ने भक्तजनले लहरी छुट्दैछ भनेर पूर्वानुमान गर्न सक्छन् । 

मन्दिरका पुजारी लम्सालका अनुसार मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टहरुमध्ये एउटा घण्टमा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, बडा दशैँ, चैते दशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँद याममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । 

मनोकांक्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि तनहुँका साथै छिमेकी जिल्लाहरु कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवनाबाट भक्तजन आउने गरेका छन् । धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण रहेको यस ठाउँको सोचे अनुसारको विकास हुन नसकेको स्थानीयवासीको ठम्याइ छ । तीन वर्ष अगाडि शुक्लागण्डकी नगरपालिकाले मन्दिर पूजा व्यवस्थापन समितिमाथि हस्तक्षेप गरी निस्कृय बनाएको थियो । 

अध्ययन कार्यदल गठन 

विसं २०७२ सालमा शुक्लागण्डकी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले मन्दिर नगरपालिकाको मातहातमा ल्याएर व्यवस्थापन समिति विघटन गराउनुभएको थियो । त्यसयता मन्दिर व्यवस्थापन समिति गठन हुन सकेको छैन । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगर कार्यपालिकाको बैठकले शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्ष लोकनारायण श्रेष्ठको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्