चन्दाबाट सडकः बजेटबाट स्तरोन्नति



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका बासिन्दाले १० वर्ष अघि चन्दा सङ्कलन गरेर बनाएको सडक नगरपालिकाको बजेटबाट स्तरोन्नति हुने भएको छ । २०६५ सालमा स्थानीयले चन्दा सङ्कलन गरेर बेनपा ३ दुधेखोलादेखि भकिम्ली जोड्ने सडकको ट्रयाक खुलाएका थिए ।

दूधे खोला–हल्लेगौडा–डाँडा खानी–डोले हुँदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सोही सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो । बेनी नगरपालिकाले विनियोजन गरेको रु ३३ लाख ७७ हजार अनुदान तथा स्थानीयवासीको रु पाँच लाख ९६ हजार बराबरको जनश्रमदानमा सडकको स्तरोन्नति गर्न लागिएको उपभोक्ता बेनी नगरपालिका वडा नं ३ का सदस्य गेमबहादुर घर्तीले बताए ।

‘पहिलो चरणमा डोजर प्रयोग गरी सडक फराकिलो बनाइएको छ । अब ग्याविन पर्खाल, नाली, सोलिङ र ढलान गर्ने काम गर्छौँ,’ वडा सदस्य घर्तीले भने, ‘आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।’

तीन मिटर चौडा सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन लागिएको हो । सडक स्तरोन्नति गरिए बाह्रै मास सवारीसाधन गुडाउन सकिनेछ ।

सडकको स्तरोन्नति भएपछि भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्