सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुँदै : म्याग्दीमा प्रचारप्रसार तिव्र



म्याग्दी : सात सय पाँच वर्षपछि बराह क्षेत्रको चतरा धाम सुनसरीमा हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञका लागि म्याग्दीमा प्रचारप्रसार र सहयोग संकलन अभियान तिव्र पारिएको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगदुगुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा यही माघ २७ देखि फागुन ७ गतेसम्म हुने महायज्ञमा वायुमण्डलको शुद्धता र पृथ्वीको उर्वराशक्ति बृद्धिको कामना गरिने श्रीराम तारकब्रह्म महायज्ञ सहयोग समितिका गण्डकी प्रदेशका सदस्य भोजवहादुर घिमिरेले बताए ।

महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा १ हजार २ सय साधकहरुद्धारा श्रीराम तारकब्रहम मन्त्रराजको १ अर्ब ६० करोड जपसहित १६ करोड हवनार्चन हुने घिमिरेले बताए ।

यस्तो महायज्ञ नेपालका लागि दुर्लभ भएको र संसारका चराचर प्राणीहरुको हितका लागि नाफा रहति उद्धेश्यले आयोजना गरिएको उनको भनाइ थियो । घिमिरेकाअनुसार वि.सं १३७९मा पहिलो पटक रामानन्दीय श्रीवैष्णव सम्प्रदायका २२ औं आचार्य श्री राघवानन्दले पहिलो पटक नेपालमा यो महायज्ञ सम्पन्न गरेका थिए ।

यस्तो यज्ञबाट उत्पन्न हुने धुवाँले प्रचुरमात्रामा अक्सिजनको उत्पादनका साथै ओजोन तहको घनत्व बृद्धि भई सूर्यबाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने आयोजकको दावि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्