तीन सातामा १६१ जना असहायको उद्धार



काठमाडौं:  प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो । शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ । काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन प्रहरीले उद्धार गरेर आश्रमसम्म पु¥याउने कामलाई तीव्रता दिएको छ ।

सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु¥याउदै आएको छ । राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले असाहय नागरिकको जीवन रक्षा गर्नकालागि उद्धार गरेर आश्रम लैजाने अभियान सञ्चालन गरिएको बताए । उनले भने–जाडोको समयमा मात्र होइन, यो अभियानलाई निरन्तरता दिएर सकेसम्म सडकलाई असहाय नागरिक विहीन वातावरण सृजना गछौ ।’

काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सातादेखि रातिको समयमा असहायको उद्धार गर्ने अभियान हुदै आएको छ । महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ । प्रहरीले दुई महिनाको बालिकादेखि ९० बर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ ।

दुई महिनादेखि ९० बर्षसम्मका बृद्धाबृद्धालाई राहत

उद्धार गरिएकालाई सधैको लागि बस्न पाउने गरी आश्रमले लिने गरेको बताउदै डिआईजी थापाले उद्धार गरिएका असहायको जीवन रक्षासँग बसोबासको दिगो व्यवस्थापन समेत भएको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले ललितपुर जिल्ला भर अहिलेसम्म ७ जना असहायको उद्धार गरेर मानव सेवा आश्रम हात्तिबनमा पठाइएको बताए । प्रहरीले सडकबाट उद्धार गरेका असाहयलाई हिमालय बृद्धाश्रम, वरिष्ठ नागरिक समाज लैनचौर, मानव सेवा आश्रम बुढानिकण्ठ, मानव कल्यण समाज (सेवा घर) खरिपाटीमा राखिएको छ । उद्धार गरिकालाई आश्रमहरुले खान बस्नेको व्यवस्थापन गर्ने गरेको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्