वडा अध्यक्षदेखि पूर्व मन्त्रीका घरमा डोजरको प्रयोग 



जनकपुरधाम : जनकपुरमा एसियाली विकास बैंकको ऋण सहयोगमा जारी एकिकृत सहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माण एवम् विस्तारको काममा जनकपुरमा वडा अध्यक्ष र र पूर्व मन्त्री सहित दर्जनाैं घरमा उपमहानगरपालिकाले डोजर प्रयोग गरेको हो ।

 

बारम्बार ताकेता र लिखित पत्र समेत दिएर आग्रह गर्दा समेत सडकमा पर्ने घरहरु र घरका पर्खालहरु नभत्काएपछि बाध्य भएर यो कदम चाल्नु परेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

 

अाइतबार बिहान उपमहानगरको वडा नम्बर ९ स्थित वडा अध्यक्ष परमेश्वर साहको पिडारी चाेकदेखि पूर्व जाने बाटोमा रहेको दुर्इ तल्ले घरसहित अन्य चार बढि घरमा डोजर प्रयोग गरिएको हो ।

 

त्यस्तै महिनाैंदेखि विवादित रहेको वडा नम्बर ४ स्थित विद्यापति चाेकमा पनि आधा दर्जन घरमा डोजर प्रयोग गरिएको छ । विद्यापति चाेकमा पूर्व मन्त्री स्वर्गिय भोलानाथ झा र थप घरहरुमा डोजर प्रयोग गरिएको स्थानियहरुले बताए । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घरमा आईतबार बिहान ९ बजे प्रहरीको उपस्थितिमा डोजर लगाएर तोडिएको हो । 

 

वडाध्यक्ष प्रमेश्वरले सडकमा परेको आफ्नो घरको भाग नभत्काउँदा जनकपुरको पिडारीचोक र थापाचोककोबीचमा पर्ने अन्य ४।५ जनाले घर भत्काउन नमानेपछि त्यहाँ सडक निर्माणको काम अवरुद्ध भएको मेयर साहले बताए ।

 

वडा अध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दाबी गर्दै मेयर लालकिशोर साहले पूर्वाग्रही र रिसीइवीले भत्काउन खाेजेकाे अाराेप लगाए । २०७० सालमा भएको साढे ५२ फिट सडक नापीमा आफ्नो घर नपरेको बताउँदै वडाध्यक्ष प्रमेश्वरले भने ‘ एकाएक मेरो घरमाथि डोजर भिडायो, रोक्न खोज्दा परिवारमाथि नै प्रहरी लगाएर ज्यादती गरियाे ।'

 

 अागामी ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडिबी परियोजनाको समय सीमा नाजिकिदै गर्दा उपमहानगरपालिका कडा रुपमा प्रस्तुत भएको हो ।

प्रतिक्रिया दिनुहोस्