प्रधानमन्त्री ओलीले भोली प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार)को प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सरकार बनेको दुइ वर्ष पुगेको उपलक्ष्यमा संसदमा सम्बोधन गर्न लागिएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

त्यसपछि संसदको सम्भावित कार्यसूची अनुसार ओलीको सम्बोधनपछि शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, स्वास्थ्य तथा जनसंख्या एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल लगायतले समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

घर्तीले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नेछिन् भने ढकालले ‘कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’, भन्ने प्रस्ताव र ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी दुई वटा प्रस्ताव पेश गर्ने बताइएको छ ।

गत वर्ष ३ फागुनमा ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्