क्यान ईन्फोटेकको तेस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड



काठमाडौं : क्यान ईन्फोटेकको तेस्रो दिन आज अवलोकनकर्ताहरूको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन्। मेलाकै अवसर पारेर विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले सेवा लिन चाहानेहरुका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए ।

अवलोकनकर्ताहरू पनि अफर र छुट भएका स्टलहरूमा झुम्मिएको देखिन्थ्यो । शुक्रवारदेखि सुरु भएको नेपालकै ठुलो प्रविधि प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, एसेसरिज, सफ्टवेयर निर्मातालगायतका कम्पनीहरूले ग्राहकहरूका लागि छुट तथा अफरहरू दिइरहेका छन् ।

मेलामा एनसेलले आफ्नो स्टलबाट १ रुपैयाँमै सिम उपलब्ध गराइरहेको छ । सिममा ग्राहक कले १० मिनेटको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।

यस्तै, उक्त सिममार्फत ग्राहकले ३ दिनको लागि २ जीबी डाटा निःशुल्क पाउनेछन् । एनसेलले आफ्नो स्टलबाट रिचार्ज खरिद गर्ने ग्राहकहरूका लागि समेत विभिन्न छुट दिइरहेको छ ।

यस्तै, मेलामा इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक, सुविसशु, भायानेटलगायतका कम्पनीहरूले अवलोकनकर्ताहरूका लागि भन्दै विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन् ।

छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरू राखिएको छ । छुट्टै पेभेलियनमा राखिएका मोबाइल, एसेसरिजलगायतका ब्रान्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफरहरू दिइरहेका छन् ।

विभिन्न ब्रान्डका मोबाईलकम्पनीहरुले अवलोकनकर्ताहरूका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट, १ वटा मोबाइल खरिद गर्दा १ वटा सित्तैमा समेत दिइरहेका छन् ।

छुट धेरै हुने र केही ब्रान्डका पोर्टेवल एसेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजकले जानकारी दिएको छ ।

‘साना एसेसरिज जस्तै माउस, किबोर्ड, ब्लुटुथ स्पिकर, क्यामेरा स्ट्यान्ड लगायतका स्टलहरूमा बढी भीड लाग्ने गरेको छ,’ उनले भने, ‘मेलामा फरक क्षमता भएका व्यक्ति लगायतले बनाएका विभिन्न आविष्कारहरू समेत प्रदर्शनमा राखिएको छ ।’

यस्तै, मेलामा आउने अवलोकनकर्ताहरू साइबर सेक्युरिटीको बारेमा जानकार भए नभएको अनुसन्धान गर्ने उद्देश्यले सर्भेक्षणपनि गरिएको छ ।

आज दिउँसोसम्म सर्वेक्षणका लागि करिव १ हजारभन्दा बढी अवलोकनकर्ताहरूले फाराम भरेका छन् । मेलामा नेपालको नवीनतम सोच ९ईन्नोभेसन० र स्टार्टअपलाई प्राथमिकतामा राखिएको आयोजकले जानकारी दिएको छ ।

उनका अनुसार प्राथमिकतामा राखिएकै कारण ईन्नोभेसन र स्टार्टअपहरूलाई निःशुल्क स्टलहरू समेत उपलब्ध गराइएको छ । १ सय ७४ ओटा स्टलसहितको मेला बुधवारसम्म चल्ने छ । यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्