गाउँगाउँमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण



झापा : ज्येष्ठ नागरिकको हक हितका लागि झापाका गाउँगाउँमा स्थानीय तह र प्रदेश सरकारको सहयोगमा ‘ज्येष्ठ नागरिक सामुदायिक भवन’ निर्माण भैरहेको छ ।

बाह्रदशी गाउँपालिका-१ भागुडुब्बामा प्रदेश सरकारको सहयोगमा अहिले १ करोड ३६ लाख ६५ हजारको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण भइरहेको बाह्रदशी गाउँपालिका-१ का वडाध्यक्ष शंभूसिंह राजवंशीले बताए ।

भवन यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुन्छ अध्यक्ष राजवंशीले भने । “गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराएर सधैँ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका हौँ” अध्यक्ष राजवंशीले भने । “यहाँ वडाकै सहयोगमा धार्मिकसभा सम्मेलन हुन्छ, जिल्लाभरिका ज्येष्ठ नागरिकलाई भेला गर्दै धार्मिक प्रवचन, महायज्ञ, पुराना अनुभव साटासाट, गीता, रामायण, महाभारत जस्ता धार्मिक पुस्तकको पाठ गराउँदै वृद्धवृद्धालाई सधैँ खुशी राख्न प्रयत्न गराउँछौँ ।”

उनले दुईतले भवनको तल्लो तहमा सभाहलसहित किचन, डाइनिङ र माथिल्लो तलामा ४ वटा कोठा गेष्ट रुम बनाइन्छ भने । “धार्मिकसभा सम्मेलनमा आएका गेष्टलाई त्यहीँ बस्ने वातावरण मिलाउने र सामुदायिक भवनमै खानाको समेत प्रबन्ध गर्दै गाउँपालिकाकै पहिलो र नमूना ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरिनेछ”, उनले भने, “सामुदायिक भवन भित्र प्रवेश गरेपछि वृद्धवृद्धाले छुट्टै आनन्द महसुस गर्ने छन् ।” अध्यक्ष राजवंशीले ज्येष्ठ नागरिक ज्यूँदा भगवान हुन् उनीहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको ज्ञान यही सामुदायिक भवनबाट युवा पुस्तामा आदन प्रदान गर्ने व्यवस्था मिलाउने बताए ।

स्थानीय दाता पद्म थापा र पूर्णमाया थापाले एक एक कठ्ठा जमिन नि : शुल्क प्रदान गरेपछि सामुदायिक भवन निर्माण थालिएको हो उनले भने, यता मुठिबाट २ करोड संकलन गर्दै सहारा नेपाल सहकारी संस्थाले झापाका विभिन्न ७ स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेको छ भने आठवटा निर्माणाधीन अवस्थामा रहेको सहकारीका ज्येष्ठ नागरिक व्यवस्थापन उपसमितिका संयोजक दिलीप शर्माले बताए ।

उनका अनुसार बुधबारेको होक्से, कन्काई नगरपालिकाको लक्ष्मीपुर, घैलाडुब्बा, कालीमुढा, मेचीनगरको बाहुनडाँगीस्थित भृकुटी र बाह्रदशीको चकचकीमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण भएका छन् । जहाँ त्यस क्षेत्रमा रहेका ज्येष्ठ नागरिक हरेक शनिबार जमघट हुँदै भजन–कीर्तन, नाचगान, सङ्गीनी, बालन खेल्दै दौतरीसँग भलाकुसारी र मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् । सहारा नेपाल सहकारी संस्थाको अगुवाईमा अहिले झापाका दश स्थानमा थप ज्येष्ठ नागरिक भवन निर्माण भइरहेका छन् ।

कनकाई नगरपालिकाको जामुनबारी, वुद्धशान्तिको ४, ६ र ७ मा त्यस्तै विर्तामोड नगरपालिकाको ७ र ८ नम्बर वडा, झापा गाउँपालिकाको शरणामतीमा ज्येष्ठ नागरिक भवन निर्माण भइरहेको शर्माले बताए । भवन निर्माणका लागि सहारा नेपालका शेयर सदस्यले प्रत्येक दिन मुठिदान स्वरुप १ रुपैयाँ प्रदान गर्दै आएका छन् । सहकारीमा आवद्ध शेयर सदस्यले ज्येष्ठ नागरिकको सम्मान स्वरुप प्रत्येक दिन एक÷एक रुपैयाँ प्रदान गर्ने र वर्षमा ३६५ रुपैयाँ सहयोग गर्दा एक करोड रुपैयाँ रकम संकलन हुँदो रहेछ त्यही पैसाले झापाका विभिन्न स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण भएको र भइरहेका छन् ।

गत वर्ष पनि १ करोड रुपैयाँ संकलन भएको थियो सोही पैसाले सामुदायिक भवन निर्माण भएको हो उनले भने । गतवर्षबाट थालिएको यो अभियान प्रभावकारी भएपछि यो वर्ष पनि निरन्तरता दिइएको बताइएको छ । ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि स्थानीयपालिका र ज्येष्ठ नागरिक संघले समेत सहयोग पु¥याउँदै आएको छ भने स्थानीय दाताले समेत सहयोग गर्दै आएका छन् । “प्रत्येक ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि सहाराका सदस्यले मुठिदान स्वरुप प्रदान गरेको एक एक रुपैयाँ लगानी रहन्छ”, उनले भने, “यो वर्ष पनि कोषमा १ करोड रुपैयाँ रकम संकलन भएको छ । हामी दश ठाउँमा भवन बनाउँदैछौँ ।” प्रत्येक चौतारी निर्माणका लागि सहकारीका तर्फबाट १० लाख रुपैयाँ र स्थानीय पालिका तथा सहयोगी दाताबाट आठ देखि दश लाख रुपैयाँ जुटाएर झण्डै २० लाख रुपैयाँमा सुविधासम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण हुन्छ ।”

यो वर्ष आठ वटा चौतारी निर्माणका लागि काम शुरु भएको र २ वटा सम्झौताका चरणमा रहेको शर्माको भनाइ छ । उनका अनुसार सहकारीले निर्माण गर्ने ज्येष्ठ नागरिक चौतारी ६०-३० फिटको हुन्छन् । टिनको छानो र ट्रसद्वारा चौतारी निर्माण गरिन्छ, शर्माले भने, ज्येष्ठ नागरिक चौतारीमा फ्री वाइफाइसहित सबै बाजागाजाका सामान हुन्छन् । पुस्तक पढ्नेका लागि पुस्तक पनि राखिएको हुन्छ । ज्येष्ठ नागरिकहरुका लागि कतिपय स्थानमा खानपानको समेत व्यवस्था गरिएको हुन्छ ।

“शनिबार बिहान १० बजेदेखि नै ज्येष्ठ नागरिकहरु भेला हुन्छन्”, उनले भने, “कतिपय ज्येष्ठ नागरिकहरु घरमा एक्लो महसुस गरिरहेका हुन्छन् तर, दौतरी भेटेपछि खुलेर बोलेको, हाँसेको देख्दा बेग्लै आनन्द हुन्छ ।” यसअघि बुधबारे, बाह्रदशीको चकचकी र कनकाईको लक्ष्मीपुरमा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतरीका लागि १०-१० लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ ।

त्यस्तै कनकाईको घैलाडुब्बा, कालीमुढा, बाहुनडाँगीमा निर्माण भएका ज्येष्ठ नागरिक भवनका लागि साढे आठ लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ । प्रत्येक चौतारी निर्माणका लागि १५ लाखभन्दा बढी रकम खर्च भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्